
काठमाडौं, असोज १२ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा पन्चकन्या तेलले कान्तिपुर गोर्खाज्लाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पन्चकन्याले अर्का भेट्रान खेलाडी बसन्त रेग्मी कप्तान रहेको टोली कान्तिपुरलाई ३४ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरायो ।
तीन खेल खेलेर सबै जित निकालेको पन्चकन्या अंकतालिकाको अहिलेसम्म शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।
टस हारेर ब्याटिङ गरेको पन्चकन्याले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रनको योगफल तयार गर्यो ।
१३० रनको विजयलक्ष्य पछ्याएको कान्तिपुरले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो ।
पन्चकन्याको जितमा अविजित रहेका पुष्प थापाले ३८, आरिफ शेखले ३२, दीपेन्द्र ऐरीले २२ तथा करण केसीले १७ रनको योगदान दिए । त्यस्तै, दीपेन्द्रले चार तथा करणले दुई विकेट लिए ।
कान्तिपुरका सन्दीप झोराले १७ रन बनाउनबाहेक अरु ब्याट्सम्यान सस्तैमा समेटिए ।
त्यस्तै, कान्तिपुरका अविनाश बोसराले चार विकेट लिएपनि आफ्नो टोलीको हार टार्न सकेनन् । रासस
प्रतिक्रिया दिनुहोस्