Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


वंशजका आधारमा नागरिकता पाउन थाले


0
Shares

–चन्द्रकला भण्डारी(रासस)

भद्रपुर ।  जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् ।

दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।

गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो ।

फलस्वरुप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले झापालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका १३५ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन् ।

गृहमन्त्रालयले संविधानको धारा ११९३० बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा बिहीबारदेखि झापामा समेत त्यस्तो नागरिकता प्रदान गर्न शुरु गरिएको सहायक प्रजिअ पोखरेलले बताए ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले झापाबाट बिहीबार ७२ र शुक्रबार ६३ गरी कुल १३५ जनाले वंशजका आधारमा नागरिकता पाएको जनाइएको छ ।

विसं २०६३ मा नागरिकता टोलीले गाउँ/गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो ।

झापामा त्यतिबेला २२ हजार ४८१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए ।  नागरिकता पाउनेमा सन्थाल, राजवंशी, मधेसी लगायतका समुदायको ठूलो सङ्ख्या छ ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान वालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो । अब त्यो अवरोध भने हटेको छ ।

‘शुक्रबार वंशजको नागरिकता पाएका विर्तामोड–७ का सन्दिप टुडूले भखैरै गरामनीको दुर्गा माविबाट एसइई परीक्षा दिएका छन् ।

उनले आफ्नो नागरिकतामा वंशज लेखिएको देख्दा साह्रै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अब जागिर खानका लागि ढोका खुल्यो ।’

उनका २२ वर्षीय दाजु समीरले नागरिकता नभएकै कारण दुई वर्षदेखि पढाइ छाडेका छन् । उनले अव व्यापार गर्ने सोच बनाएको बताए ।

वंशजका आधारमा नागरिकता पाउनका लागि बाबुआमा दुवैले जन्मका आधारमा नागरिकता लिएको हुनुपर्ने प्रजिअ पोखरेलको भनाइ छ ।