
काठमाडौं, असोज १३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् विहीबार भएका खेलमा किक अफ फुटसल र ताहाचल फुटसल विजयी भएका छन् ।
समूह ‘ए’मा रहेको सीतापाइलाको किक अफ फुटसलले ढुंगेअड्डाको आदर्श फुटसललाई ४–१ ले पराजित गरेको हो ।
आदर्श फुटसलमा भएको खेलमा पाहुना टोली किक अफलाई पराकिलो जित दिलाउन किसन लामा, प्रवेश जोशी, विजय श्रेष्ठ र उसन केसीले १–१ गोल गरे ।
आदर्शका लागि अभिषेक रिजालले सान्त्वना गोल फर्काए । जितसँगै किक अफले पहिलो खेलबाटै ३ अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत् विहीबारै भएको दोस्रो खेलमा ताहाचल फुटसलले बिजी ब्रदर्शलाई २–० ले पराजित गरेको छ ।
ताहाचलमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन सुनील बस्नेत र ‘म्यान अफ द म्याच’ घोषित रामकुमार कुमालले १–१ गोल गरे ।
खेलमा अभागी सावित भएको बिजी ब्रदर्शका आधादर्जन सुन्दर प्रहारहरुले गोललाइन पार गर्न सकेनन् ।
समूह ‘बी’मा रहेको ताहाचलले पहिलो खेलमा जित निकाल्दै लिगमा सुखद् सुरुआत गर्नुका साथै ३ अंक जोडेको छ ।
विहीबारका खेलसँगै प्रतियोगितामा पहिलो चरणका सबै खेल सकिएका छन् ।
१६ टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ हात पार्दा उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्