१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


एन्फालाई कात्तिक ५ सम्म चुनावी गतिविधि नगर्न/नगराउन अदालतको अन्तरिम आदेश


0
Shares

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कात्तिक ५ गतेसम्म निर्वाचनका गतिविधि नगर्न र नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

कात्तिक ८ गते हुने तय भएको अध्यक्ष र उपाध्यक्षको निर्वाचनबारे परेको रिटमा उच्च अदालतले शुक्रबार सो आदेश जारी गरेको हो ।

रेफ्री समितिका विनोद केसीले निर्वाचनको वैधानिकतालाई प्रश्न उठाउँदै दिएको रिटमा उच्च अदालतका न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरु युवा तथा खेलुकदमन्त्री र खेलकुद मन्त्रालयलाई उच्च सरकारी वकिलमार्फत् लिखित जवाफ पेस गर्न १५ दिने समय दिएको छ ।

त्यस्तै, फुटबल संघ, फुटबल संघको निर्वाचन समिति र राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवलाई कानुनबमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ ।

यसबारेमा दुबैपक्षको छलफल जरुरी रहेको भन्दै उच्च अदालतले कात्तिक ५ गते दुबैपक्षलाई पेसीका लागि बोलाएको छ ।

विधानको वैधानिकता र चुनावसम्बन्धी निर्देशिकाको विषयलाई लिएर रेफ्री केसीले बिहीबार दर्ता गरेको रिटबारे उच्च अदालतले शुक्रबारै अन्तरिम आदेश जारी गरेको हो ।

गत वर्ष तत्कालीन अध्यक्ष गणेश थापा फिफाको कारबाहीमा परेपछि अध्यक्षको र तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि उपाध्यक्ष पद खाली छ ।

अध्यक्षमा हालका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र हालका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको छ ।

त्यस्तै, उपाध्यक्षमा मणि कुँवर, उपेन्द्रमान सिंह र दीपक खातीले उम्मेदवारी दिएका छन् ।