Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


३२ प्रतिश्पर्धीलाई पछि पार्दै शिरिषद्वारा उपाधि रक्षा


0
Shares

पोखरा, असोज १७ । ओलम्पियन शिरिष गुरुङले छैटौं खुल्ला पौडी प्रतियोगितामा जित हात पार्दै उपाधि रक्षा गरेका छन् ।

३२ प्रतिस्पर्धीलाई पछाडी पार्दै नेपाली सेनाका गुरुङले २.५ किमिको दुरी २६ मिनेट ०७ः१३ सेकेण्डमा पुरा गरेका थिए । उनी पाँचौं खुला पौडी प्रतियोगिताका विजेता समेत हुन् । उनले जितसँगै नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिद्वारा संयुक्त रुपमा आयोजित तथा नेपाल पौडी संघको सहयोगमा भएको प्रतियोगिताको दोश्रो स्थानमा सशस्त्र प्रहरी बल एपिएफका देवेश मानन्धर रहे । उनले उक्त दुरी २७ मिनेट ७ः३८ सेकेण्डमा पार गरेका थिए । सेनाकै रुद्र कटवाल २८ मिनेट ०७ः०६ सेकेण्डका साथ तेश्रो भए ।

दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

वाराही मन्दिरस्थित बोटिङ्ग प्वाईन्टबाट सुरु भई लिटिल गार्डेनमा गएर समाप्त भएको प्रतियोगितामा स्थानीयतर्फ धनमान गुरुङ ३३ मिनट ५.८८ सेकेन्डका साथ प्रथम भए । दोश्रो स्थानमा रामकुमार मिथुन ३४ मिनट ६.८८ सेकेन्डका साथ दोश्रो र अर्जून नेपाली ३६ मिनट २३.४१ सेकेन्डका साथ तेश्रो भए ।

पोखराका स्थानीयलाई पौडीप्रति आकर्षण गर्ने उद्देश्यले स्थानीयहरुको लागि छुट्टै पुरस्कार राशीको व्यवस्था गरिएको थियो । उनीहरुले नगद १० हजार, ६ हजार र ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

सहभागी ३२ प्रतियोगीमा अमेरिकी नागरिक इयुटिएन डिस्टोर ग्रेसेस, बेलायती नागरिक स्टेभेन ह्वाइटलकको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी एकमात्र महिला खेलाडी कास्कीकी रुवी तामाङलाई कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरे ।

विजेताहरुलाई प्रमुख अतिथी मुक्तिनाथ बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्रकुमार सिंह, विशेष अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त गुरुङ्ग, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

यो प्रतियोगितासँगै पोखरामा २ वर्षदेखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगिताले यस पटक पुनः निरन्तरता पाएको छ ।