Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मेस्सीसँग धेरै समय फुटबल खेल्न नपाएकोमा पश्चाताप गर्दै रोनाल्डिन्हो


0
Shares

काठमाडौं, असोज १८ । ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सीसँग लामो समय व्यावसायिक फुटबल खेल्न नपाएकोमा आफूलाई पश्चाताप भइरहेको बताएका छन् ।

मेस्सीले स्पेनिश क्लव बार्सिलोनामा आफ्नो व्यावसायिक फुटबल करिअर सुरु गर्दा रोनाल्डिन्हो सोही क्लवमा स्थापित फुटबलरको हैसियतमा खेलिरहेका थिए ।

फुटबलका यी दुबै हस्ती बार्सिलोनामा ४ वर्षभन्दा बढी समय सँगै रहे । मेस्सीले बार्सिलोनामा सन् २००४ मा डेब्यु गरेका हुन् भने रोनाल्डिन्होले सन् २००३ देखि सन् २००८ सम्म बार्सिलोनाबाट व्यावसायिक फुटबल खेले ।

रोनाल्डिन्होले भने, ‘मैले बार्सिलोनामा ६ वर्षको करिअर अन्त्य गर्दा त्यही क्लवमा विश्वकै असली प्रतिभाको उदय भइरहेको थियो ।’

फुटबल करिअरमा आफूले जे चाहेको थियो, त्यो सबै पुरा भएको उल्लेख गर्दै उनले भने, ‘मेसीसँग अझ बढी खेल्न पाएको भए हुन्थ्योजस्तो लागिरहेको छ ।’

उनले लिग इतिहासमा मेस्सी सर्वकालिन ‘टप स्कोरर’ बन्ने दाबीसमेत गरे ।

उनले मेस्सीको व्यावसायिक फुटबलमा पहिलो गोलका लागि आफूले नै पास निकाल्न पाएकोमा गौरव लागिरहेको समेत बताएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिल र अर्जेन्टिना ठूला प्रतिद्वन्द्वी मुलुक मानिए पनि ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले अर्जेन्टिनी स्टार मेस्सी अन्तर्राष्ट्रिय फुटबलका लागि महान हस्ती भएको भन्दै प्रशंसा गरे । ‘उनीसँग समय छ, मुलुकका लागि पनि विश्वकप जित्न सक्छन्,’ रोनाल्डिन्होले भने, ‘आगामी विश्वकपमा मेस्सीले त्यो सफलता हात पार्न सक्छन् ।’

उनले भने, ‘व्यावसायिक फुटबलमा सफल हुन आफ्नो मुलुकका लागि विश्वकप जित्नैपर्छ भन्ने होइन, बार्सिलोनाको १० नम्बर जर्सीमा आफूलाई प्रमाणित गर्न मेस्सीले केही बाँकी राखेका छैनन् ।’