१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


च्यासलले जित्यो बि डिभिजन लिगको उपाधि, एनआरटी ए डिभिजनमा


0
Shares

काठमाडौं, असोज १९ । शहिद स्मारक बी डिभिजन लिग फुटबलको उपाधि च्यासल युथ क्लवले जितेको छ ।

लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार बाँसबारी क्लवलाई ५-० ले हराउँदै च्यासलले उपाधि जितेको हो ।

उपाधि सुरक्षित गर्न अन्तिम खेलमा कम्तीमा ५ गोलको अन्तरमा खेल जित्नुपर्ने समिकरण बनेको अवस्थामा च्यासलले नाटकीय परिणाम निकालेको हो ।

च्यासलको यो जितले न्युरोड टिम एनआरटीको उपाधि यात्रामा भने धक्का लाग्यो । मंगलबारको पहिलो खेलमा सातदोवाटो युथ क्लबलाई २-० ले हराउँदै ए डिभिजनमा फर्केको एनआरटीले उपाधि जित्न भने सकेन ।

च्यासल र एनआरटीको बराबर २८ अंक भएपछि हेड टु हेडको आधारमा विजेताको टुंगो लाग्नुपर्ने थियो ।

तर लिग अन्तर्गत यी दुई टोलीबिचको खेल बराबरीका सकिएकाले हेड टु हेडमा पनि परिणामा निकाल्न सकिएन ।

त्यसपछि लिग विजेताको टुंगो गोलअन्तरको आधारमा लगाईएको हो । च्यासलको खेलपुर्व एनआरटीले ४ गोलले अग्रता लिए पनि अन्तिम खेलमा च्यासल ५÷० ले विजयी भएपछि उपाधि च्यासलले जितेको हो ।

मंगलबार एनआरटीसँग पराजित भएको सातदोवाटो युथ क्लब भने ए डिभिजनमा उक्लने अवसरबाट चुकेको छ ।

१४ टोली सहभागि बी डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेका महाविर क्लव र सामाजिक युथ क्लव सि डिभिजनमा घटुवा भएका छन् ।