
काठमाडौं, असोज १९ । सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबले मध्यपुर युथ एकेडेमीलाई ४–३ ले हराएसँगै ‘बी’ डिभिजन लिग सकिएको हो ।
यसअघि नै रेलिगेसनमा परिसकेको सामाजिक युथ क्लब र मध्यपुरबीचको खेल लिग समाप्तीको औपचारिकतामात्रै थियो ।
यो खेल जित्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको सामाजिकले १३ खेलबाट ११ अंक बटुलेको छ । ११औं स्थानको मध्यपुरले १३ अंक जोडेको छ ।
योपटक लिग च्याम्पियन बन्दै च्यासल युथ क्लब र दोस्रो स्थानको न्यूरोड टिम (एनआरटी) ‘ए’ डिभिजनमा उक्लिएका छन् ।
ललितपुरको च्यासल पहिलोपटक ‘ए’ डिभिजनमा बढुवा भएको हो भने काठमाडौंको एनआरटी तीन वर्षको अनुपस्थितिपछि ‘ए’ डिभिजनमा फर्किएको हो ।
आर्थिक तथा प्राविधिक कारण देखाँउदै एनआरटीले तीन वर्षअघि ‘ए’ डिभिजन लिग नखेलेपछि स्वतः ‘बी’ डिभिजनमा झरेको थियो ।
योपटकको ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी) तेस्रो भयो भने सातदोबाटो युथ क्लब चौंथो भयो ।
११औं चरणको खेलसम्म उत्कृष्ट प्रदर्शन गरेको श्री कुमारी क्लब पाँचौ स्थानमा रह्यो । ११औं चरणको खेलमा एनआरटीसँग १–० ले पराजित भएको श्रीकुमारी क्लबका पदाधिकारी तथा समर्थकहरुले रेफ्री तथा अरु अफिसियलहरुलाई मैदानमै कुटपिट गरेपछि दुई खेल खेल्न बाँकी छँदा श्री कुमारीलाई एन्फाले दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
अरु क्लबहरुलेभन्दा दुई खेल कम खेल्दापनि श्रीकुमारी अंकतालिकाको पाँचौ स्थानमा रहन सफल भयो ।
प्रतिक्रिया दिनुहोस्