काठमाडौं, कात्तिक ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार काठमाडौंमा भएको एन्फाको १५औं साधारणसभामा प्रतिस्पर्धी कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।
एन्फाका ६७ प्रतिनिधिले सहभागिता जनाएको निर्वाचनमा श्रेष्ठले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी शेर्पाले ३१ मतमात्र ल्याए ।
त्यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी भएका छन् । कुँवरले ३४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्द्धी दीपक खातीले २५ मत प्राप्त गरे । त्यस्तै, उपेन्द्रमान सिंहले ८ मतमात्र ल्याए ।
कुँवर श्रेष्ठको प्यानलबाट तथा खाती शेर्पाको प्यानलबाट उठ्दा सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एन्फाको इतिहासमा पहिलोपटक अध्यक्षका लागि भएको निर्वाचनमा विजयी भएसँगै एक वर्षसम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठले सबै फुटबलकर्मीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, अध्यक्षमा पराजित भएपछि प्रतिक्रिया दिँदै कर्माछिरिङ शेर्पाले परिणाम स्वीकारे पनि निर्वाचनमा आर्थिक चलखेल भएको आरोप लगाउँदै आफूले उठाएका मुद्दालाई सम्बोधन गर्न माग गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्