
काठमाडौं, कात्तिक १४ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेडका लागि भने निकै घातक बनेको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ४–० ले हरायो । सिटीको जितमा सर्जियो अग्युरो र इल्के गनडोगनले दुई–दुई गोल गरे ।
अग्युरोले १९ र २८ औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफमा वेष्ट ब्रोमले खेलमा फर्किने प्रयास गरेको थियो । तर अन्तिमको ११ मिनेटमा सिटीले थप दुई गोल गर्यो ।
सिटीका लागि ७९ र ९० औं मिनेटमा गनडोगनले गोल गर्दै ४–० को जित दिलाए । जितपछि १० खेलबाट २३ अंकसहित सिटी शीर्ष स्थानमा कायम छ । १० खेलबाट १० अंक जोडेको वेष्ट ब्रोम १५ औं स्थानमा छ ।
गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड यो सिजन लिगमा उक्लिएको बर्नलीसँग गोलरहित बराबरीमा रोकियो । युनाइटेडले यो खेलमा ३७ पटक प्रहार गरे पनि गोल गर्न सकेन ।
घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले धेरै पटक पेनाल्टीका लागि अपिल गरेको थियो, तर पाएन । यस्तै युनाइटेडका खेलाडीले प्रहार गरेको बल बर्नलीका गोलरक्षक टम हिटनले जोगाए । बलमा ७२ प्रतिशत नियन्त्रण रहेर पनि युनाइटेड बराबरीमा रोकिन बाध्य भएको हो ।
६८ औं मिनेटमा एन्डर हरेरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेडलाई अर्को झड्का लाग्यो । बराबरीपछि १० खेलबाट १५ अंक जोडेको युनाइटेड आठौं स्थानमा झरेको छ । ११ अंकसहित बर्नली १३ औं स्थानमा छ ।
राति नै भएको खेलमा टोटनह्याम पनि लिसेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो । अरु खेलमा मिडल्सबर्गले बोर्नमाउथलाई २–० तथा वाट्फोर्डले हल सिटीलाई १–० ले हरायो ।
यसैगरी गएरातिकै खेलमा आर्सनलले सन्डरल्याण्डलाई ४–१ ले हराउँदै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । आर्सनलका लागि एलेक्स सान्चेज र ओलिभर जिरउडले दुई दुई गोल गरे । सन्डरल्याण्डका लागि जर्मेन डिफोले एक गोल फर्काए । जितपछि आर्सनलको १० खेलबाट २३ अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटी समान अंक भएपनि आर्सनल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । १० खेलबाट दुई अंक मात्रै जोडेको सन्डरल्याण्ड पुछारमा छ ।
लिग अन्तर्गत शनिबार राति भएको अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–२ ले हरायो । लिभरपुलको जितमा एमरी क्यान, डिजेन लोभरेन, जोएल म्याटिप र रोबर्टो फिरमिनोले एक–एक गोल गरे ।
क्रिष्टल प्यालेसका जेम्स म्याकअथरले दुई गोल गरे । जितपछि १० खेलबाट २३ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।
समान २३ अंक नै भएपनि गोल अन्तरका आधारमा लिभरपुल म्यानचेस्टर सिटी र आर्सनलभन्दा पछि परेको हो । १० खेलबाट ११ अंक जोडेको क्रिष्टल प्यालेस १२ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्