
काठमाडौं, कात्तिक १९ । युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । जोजे मौरीन्होको प्रशिक्षणमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडलाई गएराति टर्कीको फेनरबाचेले २–१ ले हराएको हो ।
यो हारसँगै म्यानचेस्टर युनाईटेडको युरोपा लिग फुटबलमा अर्को चरण प्रवेश गर्ने सम्भावना कमजोर बन्दै गएको छ । समुहमा दुई खेलमात्रै बाँकी छँदा म्यानयुको ६ अंक छ । ७-७ अंक जोडेका नेदरल्याण्ड्सको फेयनुर्ड र टर्कीस क्लव फेनरबाचे शीर्ष दुई स्थानमा छन् ।
उता अर्को इङ्लिस क्लब साउथ ह्याम्पटनले भने गएराति ईटालीको ईन्टर मिलानलाई २–१ ले हराएको छ । यही समुहको अर्को खेलमा चेक गणतन्त्रको स्पार्टा प्रागले ईजरेलको हपोईल बिर शेभालाई २–० ले हराएको छ ।
युरोपा लिग फुटबलअन्तर्गत गएराति भएका अन्य खेलमा स्पेनको एथ्लेटिक बिल्बाओ विजयी हुँदा सेल्टा भिगो र भियारीयाल पराजित भएका छन् ।
यसैगरी ईटालीको एएस रोमाले अष्ट्रिया वेनलाई ४–२ ले हराउँदा अर्को ईटालियन क्लब फियोरेन्टिनाले स्लोभेनियाको स्लोभान लिबरेकलाई ३–० ले हराएको छ ।
रुसको जेनिथ, बेल्जियमको एन्डरलेच्त, नेदरल्याण्ड्सको आयाक्स, पोर्चुगलको ब्रागा र युक्रेनको शख्तर पनि आ–आफ्ना खेलमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्