
काठमाडौं, कात्तिक २० । मलेसियामा जारी एएफ्सी सोलिडारिटी कपमा आज(शनिबार) नेपालले आफ्नो पहिलो खेलमा टिमोर लेष्टेसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे नेगेरी स्टेडियममा सुरु हुने छ । विश्व फुटबल महासंघ फिफाको वरियता क्रममा नेपाल र टिमोर लेष्टे संयुक्त रुपमा १ सय ८६ औं स्थानमा छन् ।
प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर मानिएको टिमोर लेष्टे प्रतियोगिताको उद्घाटन खेलमा ब्रुनाइसँग ४–० ले पराजित भएको थियो ।
समुह ए मा तीन टोली मात्र रहेका कारण नेपाल आज टिमोर लेष्टेबिरुद्ध ३ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छ ।
यसअघि २ पटक यी दुई टोली भिड्दा दुबै खेलमा नेपाल बिजयी भएको थियो ।
सन् २०१४ को विश्वकप छनोटअन्तर्गत पहिलो चरणको खेलमा ग्राहम रोबर्टसको प्रशिक्षणमा रहेको नेपालले दशरथ रंगशालामा टिमोरलाई पहिलो लेगमा २–१ तथा दोस्रो लेगमा ५–० ले हराएको थियो ।
फिफा र्याङ्किङमा समान स्थानमा रहे पनि प्राविधिकरुपमा टिमोर भन्दा निकै अब्बल नेपालले आज सहज जित हात पार्ने अनुमान गरिएको छ ।
एसियाली फुटबल महासंघ एएफ्सीले आफ्ना कमजोर सदस्यलाई सम्मिलित गरी आयोजना गरेको प्रतियोगिताको समुह बी मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।
मलेसियामा केही दिनदेखि हाबा हुरीसहित बर्षा भइ रहेको भए पनि आज नेपाल र टिमोर लेष्टेको खेल अवधी भर पानी नपर्ने मलेसियाको मौसम पूर्वानुमान शाखाले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्