
अपडेट
काठमाडौं, कात्तिक २० । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले अपेक्षाविपरीत प्रदर्शन गरेको छ ।
नेपालले पहिलो खेलमा शनिबार टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो ।
विराज महर्जनको कप्तानीमा मैदानमा उत्रिएको नेपालले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेन ।
विश्व फुटबल महासंघ (फिफा)को वरीयताक्रममा नेपाल र टिमोर लेस्टे संयुक्तरुपमा १८६औं स्थानमा छन् ।
तुलनात्मकरुपमा कमजोर मानिएको टिमोर लेस्टे पहिलो ब्रुनाइसँग ४–० ले पराजित भएपनि त्यसको फाइदा नेपालले उठाउन सकेन ।
समूह ‘ए’मा तीन टोलीमात्र रहेका कारण नेपाल टिमोर लेस्टेलाई हराउनासाथ सेमिफाइनलमा पुग्ने थियो । अब मंगलबार हुने नेपाल र ब्रुनाइबीचको खेलबाटै सेमिफाइनल समीकरण पूरा हुनेछ ।
उक्त खेल नेपालले जिते, बराबरी भए वा ब्रुनाइसँग तीन गोलको अन्तरमा पराजित भएपनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।
टिमोर लेस्टेविरुद्धको खेलपछि प्रतिक्रिया दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले पहिलो खेल भएकाले दबाब बढेको बताए ।
उनले खेलाडीहरुले ठीकैमात्र प्रदर्शन गरेको बताउँदै बु्रनाइविरुद्ध खेलाडीहरु ‘फर्म’मा फर्कने विश्वास गरेका छन् ।
खेल सुरु हुनुअघि भने कोजीले नेपाल उपाधि जित्न मलेसिया आएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्