Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


एसइई परीक्षामा भएको अनियमितता सीआइबीले छानबिन गर्ने


0
Shares

काठमाडौं, चैत १५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने निर्णय गरेको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी सीआइबीलाई दिइएको मन्त्रीका स्वकीयसचिव पुरन केसीले जानकारी दिए ।

सीआइबीले अहिलेसम्म भएका अनियमितता र परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सन्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नम्बर–२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ ।

यस्तै, बैठकले ७७ जिल्लामा अबदेखि सन्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।

शनिबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकान्ड/फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इन्जिनियर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुनेछ ।

शनिबार हुने ती विषयको प्रश्नपत्र ठीक छ वा छैन भनेर शुक्रबार साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरिएको स्वकीयसचिव केसीले बताए ।

देशभर यही चैत १० गतेदेखि सुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । रासस