
ब्राजिल, मंसिर १४ । ब्राजिलका फुटबल खेलाडीहरु सवार एउटा विमान कोलम्बियामा दुर्घटना भएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्राजिलको एउटा स्थानीय फुटबल क्लवका खेलाडी सवार विमान कोलम्बियाको मेडलिनमा दुर्घटना भएको हो ।
ब्राजिलको चापेकोन्से रियल फुटबल टिमका सदस्यहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा भएको मानवीय क्षतिको पूर्ण विवरण प्रकाशमा आउन बाँकी नै रहे पनि केही संचारमाध्यमले घाइते अवस्थामा २० जनाको उद्धार गरिएको जनाएका छन् ।
यद्यपि आधिकारिक रुपमा मानवीय क्षतिको विवरण आउन बाँकी नै छ । कोलम्बियन अधिकारीहरुका अनुसार उद्धारका लागि टोली परिचालन गरिएको छ ।
अधिकारीहरुका अनुसार चार्टर गरिएको सो विमानमा फुटबल खेलाडीसहित ८१ जना सवार थिए । सुडामेरिकन क्लव कपमा प्रतिश्पर्धा गर्न गएको ब्राजिलयन क्लवको टोली दुर्घटनामा परेको हो ।
दुर्घटनालगत्तै फाइनल म्याच रद्द गरिएको छ ।
कोलम्बियाका अधिकारीहरुका अनुसार इन्धन सकिएको कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्