
काठमाडौं, मंसिर २८ । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली कार्यान्वयनमा ल्याउन थप २७ अर्ब रुपैयाँ रकम आवश्यक भएको बताएका छन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पौडेलले अर्थ मन्त्रालयले थप स्रोत जुटाउन नसकेका कारण शिक्षा नियमावली आउनमा ढिलाइ भइरहेको बताएका हुन् ।
शिक्षा क्षेत्रमा यो वर्ष एक खर्ब रुपैयाँ रकम विनियोजन भइसकेको छ ।
मन्त्री पौडेलले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको र उसले आवश्यक बजेट दिनसके शिक्षा नियमावली आउन समय नलाग्ने बताए ।
यस्तै, मन्त्री पौडेलले सबैको चित बुझाएर शिक्षा नियमावली ल्याउन नसकिने बताए ।
आठौं शिक्षा ऐन पारित भएको लामो समय भइसक्दा पनि शिक्षा नियमवाली भने आउन सकिरहेको छैन ।
कार्यक्रममा सांसद रञ्जुकुमारी झाले विद्यालय व्यवस्थापन, स्थायी शिक्षक व्यवस्थापन र विद्यालयलाई राजनीतिबाट मुक्त गराउन शिक्षा नियमावली छिटोभन्दा छिटो ल्याउन आग्रह गरिन् ।
कार्यक्रममा निजी विद्यालय सन्चालहरुले भने आफूहरुलाई समावेश नगरी शिक्षा नियमावली आएमा त्यसलाई नस्वीकार्ने बताएका थिए ।
उनीहरुले सरकारको मापदन्डअनुसार शिक्षकलाई तलब दिन नसकिनेसमेत स्पस्ट पारेका थिए ।
अभिभावक सघंका अध्यक्ष सुप्रभात भण्डारीले भने शिक्षा नियमावली नआएका कारण विद्यालय व्यवस्थापनमा नै समस्या भएको भन्दै यसले ७५ हजार बालबालिकाको भविष्य जोखिममा पारेको बताए ।
प्रतिक्रिया दिनुहोस्