
धनकुटा, मंसिर ३० । धनकुटा सदरमुकामस्थित नगरकै जेठो सार्वजनिक पुस्तकालय बेवारिसे अवस्थामा पुगेको छ ।
संरक्षण र व्यवस्थापनको अभावमा तीन दशकअघि भीमनारायण चोकमा स्थापना गरिएको पुस्तकालय बेवारिसे अवस्थामा पुगेको हो ।
सञ्चालन तथा ब्यवस्थापनको जिम्मेवारी लिएको धनकुटा नगरपालिकाले २०६० सालमा पुस्तकालयमा कार्यरत कर्मचारी हटाएर पुस्तक र पत्रपत्रिका खरिदका साथै सञ्चालन व्यवस्थापनका लागि दिँदै आएको नियमित अनुदानसमेत कटौति गरेपछि पुस्तकालयको बेहाल भएको हो ।
पुस्तकालय तथा वाचनालय सञ्चालनका लागि धनकुटा नगरपालिकाले वार्षिक २० हजार रुपैयाँ छुट्याउने गरेको छ । जसबाट वाचनालयमा पत्रपत्रिकाको मात्र व्यवस्था गरिएको स्थानीय धिरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।
पुस्तकालयको स्तरोन्नती गरी सञ्चालन गर्न स्थानीयले माग गरेपछि नगरपालिकाले बेवास्ता गर्दै आएको छ । यो पुस्तकालयमा ३ हजार ५ सयभन्दा बढी पुस्तक राखिएका छन् ।
पुस्तकालयको रेखदेख र सरसफाइसमेत नहुँदा त्यहाँ राखिएका नेपाली, हिन्दी र अंग्रेजी साहित्यका सयौं विश्वचर्चित बहुमुल्य पुस्तक धमिरा तथा माकुराको बासस्थानको रुपमा परिणत भएको छन् ।
प्रतिक्रिया दिनुहोस्