
-रविन भट्टराई, ईमेज
दैनिक हजारौं तीर्थयात्री आवतजावत गर्ने कच्चीबाटो स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेसँगै काम सुरु भएको हो ।
पाथिभरा जाने सडकलाई फराकिलो बनाउने काम द्रुत गतिमा भइरहेको छ । नालीसहित दुई लेनको सडक बनाउन अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
काम सम्पन्न भएपछि अहिले चार घण्टा समय लाग्ने बाटोबाट आधा घण्टामै यात्रा गर्न सकिने ताप्लेजुङ–ओलाङ्चुङगोला खण्ड लोकमार्ग योजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
पाथिभरा जाने मोटरबाटोअन्तर्गत सुकेटार–पाथिभरा सडकखण्ड वर्षातको समयमा बन्द हुने गर्दछ । तर स्तरोन्नतिपछि बाह्रै महिना सडक सञ्चालन हुने बताइएको छ ।
अहिलेनै सडक फराकिलो बनाई, खाल्डा पुरी सकिएकाले अब तल्लो फेदिसम्म सवारी चल्न सक्ने भइसकेको छ । यसले पाथिभरा जाने तीर्थयात्रीलाई फाईदा पुगेको आयोजना प्रमुख नेपालीले बताए ।
स्तरोन्नति गर्नुअघि सडक चिप्लो र खाल्डा धेरै भएकाले सुकेटार–पाथिभरा सडक खण्डमा धेरै सवारी साधन जान सक्ने अवस्था थिएन ।
सडक स्तरोन्नतिको जिम्मेवारी कन्काई इन्टरनेसनल विल्डर्स प्रालि सुरुङ्गा झापाले लिएको छ । उसले भ्याट बाहेक ४ करोड ९४ लाख ८४ हजार ६ सय ५ रुपैयाँमा ठेक्का लिएर काम सुरु गरेको हो ।
पाथीभरा पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय तिर्थस्थल हो । यो स्थानमा पुग्ने मोटरबाटो नहुँदा पर्यटकलाई समस्या पर्ने गरेको थियो ।
मोटरबाटोको स्तरोन्नतिपछि बाह्रै महिना सवारी सञ्चालन हुने भएकाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पुग्ने विश्वास पाथीभरा क्षेत्र विकास समितिले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्