२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


६० हजार दक्ष कामदार आवश्यक पर्नेमा १५ हजारले मात्र लिए तालिम, कामदारको अभाव


0
Shares

अति प्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि ६० हजार दक्ष कामदारको आवश्यकता पर्ने अनुमान गरिएको छ । जसमध्ये हालसम्म १५ हजारलाई मात्र तालिम दिइएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाई प्रमुख शिवहरि शर्माले बताए ।

‘तालिमका लागि मन्त्रालयले पाठ्यक्रम र ढाँचा निर्माण गरेको छ, त्यस अनुसार विभिन्न गैरसरकारी संस्थाले तालिम दिएका छन्, अहिलेसम्म १५ हजारले तालिम लिएका छन्, तालिम लिएका पनि सबैले काम नगरी अन्य पेसा व्यवसायमा संलग्न भएको जानकारी पाएका छौं,’ उनले भने, ‘तालिम लिन चाहनेकै अभाव भएको सूचना जिल्ला जिल्लाबाट प्राप्त भएको छ ।’

अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण हुनुपर्ने साढे सात लाख घरमध्ये हालसम्म १८ हजार घरमात्र पुनःनिर्माण सुरु भएको छ । पुनःनिर्माणका लागि दक्ष कामदारकै अभाव भएको जिल्लामा खटिएका इन्जिनियरको गुनासो छ । भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि मन्त्रालयले १७ प्रकारका नमुना जिल्ला जिल्लामा पठाएको छ ।

भवन सहिताअनुसार नमुना बाहेक पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ । जसलाई प्राविधिकले भूकम्प प्रतिरोधी भनी सिफारिस गरेपछि लाभग्राहीले अनुदानको दोस्रो र तेस्रो किस्ता पाउँछन् ।

दक्ष कामदार बढाउन विशेष कार्ययोजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पेस गरिएको एकाइले जनाएको छ । (रासस)