Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


वरिष्ठ पत्रकार मणिराज उपाध्यायको अन्त्येष्टि गरियो


0
Shares

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार राति निधन भएकोमा आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

गंगालाल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । नेपाल प्रजा परिषद्को मुखपत्र सहीरास्ताबाट २००८ सालमा पत्रकारिता सुरु गरेका उपाध्यायले २०११ सालदेखि समाज दैनिकको प्रकाशन सुरु गरी २०५३ सालसम्म निरन्तर सम्पादक÷प्रकाशकको भूमिका निर्वाह गरेका थिए ।

प्रेस स्वतन्त्रताको पक्षमा सशक्त लेखन र आवाज उठाएवापत उनी पटक पटक जेल समेत परेका थिए ।

तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गरेका उपाध्यायको सम्मानमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जलि सभामा महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले स्वर्गीय उपाध्यायको पार्थिव शरीरमा महासंघको झण्डा ओडाएका थिए ।

कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्की, पूर्व उपप्रधानमन्त्री कमल थापा, महासंघका पूर्व अध्यक्षसहित ठूलो संख्यामा पत्रकार तथा आफन्तहरुको सहभागिता थियो ।

महासंघले पूर्वअध्यक्ष स्वर्गीय उपाध्यायको शोक मनाउन आज महासंघको केन्द्र तथा स्थानीय शाखा कार्र्यालयहरु बन्द गर्नुका साथै औपचारिक कार्यक्रमहरु नगर्ने जनाइएको छ ।