Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


फेडेरर र भेनस अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा


0
Shares

३५ वर्षीय चारपटकका च्याम्पियन फेडेररले मंगलबार बिनावरीयताका रसियन खेलाडी मिसा भेरेभलाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् ।

१३औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्नेक्रममा फेडेररले कोर्टमा ९२ मिनेटमात्र समय खर्चेर खेल ६–१, ७–५ र ६–२ ले जिते ।

१८औं ग्रान्डस्लामको नजिक पुगेका फेडेररले सेमिफाइनलमा आफ्नै राष्ट्रका स्टानिस्लास वावरिंकासँग खेल्नेछन् ।

चौथो वरीयताका वावरिंकाले क्वार्टरफाइनलमा फ्रेन्च खेलाडी जो वेल्फ्रेड सोंगालाई ७–६, ६–४ र ६–२ ले हराए ।

महिलातर्फ भेनस सेमिफाइनलमा
महिलातर्फ सबैभन्दा बढी उमेरकी ३६ वर्षीया अमेरिकन खेलाडी भेनस विलियम्स सेमिफाइनलमा पुगेकी छन् ।

१९ वर्षदेखि अष्ट्रेलियन ओपन खेलेकी भेनसले सन् २००३ पछि पहिलोपटक सेमिफाइनलमा पुग्नेक्रममा मंगलबार रसियन खेलाडी एनास्तासिया पाभ्लुचेन्कोभालाई ६–४ र ७–६ ले हराइन् ।

अब भेनसको भिडन्त आफ्नै राष्ट्रकी बिनावरीयताकी खेलाडी कोको भान्डेवेगेसँग हुनेछ ।

कोकोले क्वार्टरफाइनलमा सातौं वरीयताकी स्पेनिस खेलाडी गर्बाइन मुगुरुजालाई ६–४ र ६–० ले हराएकी हुन् ।