२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हेल्प नेपालद्वारा झापा र सप्तरीमा कम्बल वितरण तथा आँखा शिविर


0
Shares

हेल्प नेपालले झापाका तीन गाविसका विभिन्न व्यक्तिहरुलाई कम्बल वितरण तथा सप्तरीको सखडा गाविसमा आँखा शिविर संचालन गरेको छ । सप्तरीको राजविराजमा सम्पन्न कार्यक्रममा भने एक हजार थान कम्बल वितरण गरिएको सो संस्थाले जनाएको छ ।

संस्थाका अनुसार झापा जिल्लाको केचना र बेलुवाडीमा ७ सय ३० थान र घेराबारी गाविसमा १ सय ३० थान कम्बल वितरण गरिएको हो । जसमध्ये १ सय २० थान कम्बल स्थानीय एकल महिला तथा वृद्ध महिलालाई वितरण गरिएको थियो भने घेराबारीका १ सय ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको हेल्प नेपाल नेटवर्कका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रवि मानन्धरले बताए ।

उनले सप्तरीको राजविराजमा पनि एक हजार थान कम्बल वितरण गरेको बताए । यसै क्रममा आफ्नो नियमित कार्यक्रम अन्तर्गत सप्तरी जिल्लाको सखडा गाविसमा तीन दिने आँखा शिविर संचालन गरेको संस्थाले जनाएको छ । आँखा शिविरमा त्यस क्षेत्र वरपरका सयौं व्यक्तिहरुको आँखा परीक्षण गरिएको थियो ।

आँखा परीक्षण पश्चात १ सय २ जनाको मोतीबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । डा. राजकुमार यादवको समूहले आँखा शिविरमा स्क्रिनिङ्ग गरेका मोतिबिन्दुका बिरामीहरुको सगरमाथा चौधरी आँखा अस्पताल लहानमा अपरेशन गरेको हेल्प नेपालकी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले बताइन् ।

उनले स्वास्थ्यका क्षेत्रमा अझै विभिन्न कार्यक्रम निरन्तर गरिने पनि जानकारी दिइन् ।

विभिन्न विपद्का समयमासमेत उद्धार तथा सहयोग गर्दै आएको हेल्प नेपाल नेटवर्कले आफ्नो नियमित कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरेको सचिव घिमिरेले बताइन् ।

केही साताअघि मात्रै हेल्प नेपाल नेटवर्कले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक र दोलखाका दुई विद्यालयलाई सहयोग गरेको थियो ।