Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


केन्याविरुद्धको खेलमा जित/हारले नेपाललाई के हुन्छ ? कप्तान पारस खेल्छन् कि खेल्दैनन् ?


0
Shares

                                                                                            फाइल फोटो
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ ।

नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुबै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष चारमा पर्नसके सन् २०१८ मा बंगलादेशमा हुने आइसीसी ‘वान डे’ विश्वकप छनोटमा छनोट हुने मौका पाउनेछन् । त्यसैले पनि उक्त खेल निकै प्रतिस्पर्धात्मक बन्नेछ ।

उक्त खेलमा नेपालले दुबै खेल जितेमा १० अंक जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुबै खेल हारेको खन्डमा नेपालको शीर्ष चारमा रहने सम्भावना पनि लगभग समाप्त हुनेछ ।

त्यसैले पनि शीर्ष चारभित्र आफ्नो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा ८ खेल खेलेको नेपाल ६ अंक जोड्दै ८ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ ।

त्यस्तै, समान ८ खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै ८ अंककासाथ अंकतालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्नेछ ।

उक्त खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघिमात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो । त्यहाँ नेपालले विभिन्न टोलीसँग अभ्यास खेल खेलेको थियो ।

बलर करणको स्वास्थ्यमा समस्या
राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी स्वास्थ्य समस्याका कारण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् ।

पेट दुख्नुका साथै बान्ता भएपछि उनलाई अस्पताल भर्ना गरिएको नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।

उनले जानकारी दिएअनुसार करणलाई एपेन्डिक्स भएको कारण तत्काल अपरेसन गर्नुपर्नेछ । उनको स्थानमा कुन खेलाडीलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन ।

आइसीसीले स्वीकृत दिएपछिमात्र करणको स्थानमा अर्का खेलाडी ल्याइने एनालिष्ट शिवाकोटीले जानकारी दिए ।

यता, कप्तान पारस खड्का पनि उक्त खेल खेल्ने या नखेल्ने भन्ने निर्क्योल हुन सकेको छैन । उनले तीन साता अघिमात्र एपेन्डिक्सको शल्यक्रिया गरेका थिए ।

कप्तान खड्काले आफू शारिरीक तथा मानसिकरुपमा तयार भएको भन्दै शनिबारको खेल खेल्ने या नखेल्ने शनिबार नै तय हुने बताए ।

टिकट
उक्त खेलको लागि आइसीसीबाट टिकट बिक्रीको अधिकार पाएको ई–सेवाले सबै टिकट बिक्री भइसकेको जनाएको छ ।

ई–सेवाकाअनुसार पहिलो खेलका लागि ११ हजार दुई सय टिकट बिक्री भइसकेको छ ।

सोमबार हुने दोस्रो खेलको टिकट भने बाँकी छ । टिकटको मूल्य रु २०० तोकिएको थियो । रासस