२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नारायणीमा हाम्फालेका सैनिक जवान अझै बेपत्ता, महिलाको सकुशल उद्धार


0
Shares

यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम फालेका थिए ।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए । हालसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा चितवन भरतपुर महानगरपालिका–२२ कि १८ वर्षीया सम्झना पौडेललाई उद्धार गरेको भए पनि पोखरेल भने बेपत्ता रहेका उनले बताए ।

भरतपुर–२१ का २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना प्रेमीप्रेमीका रहेको जानकारी आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)