Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


थप १७ जिल्लाका भूकम्पपीडितले पनि पाउने भए राहत रकम


0
Shares

केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको हो ।

अति प्रभावित १४ जिल्लामा जस्तै १७ जिल्लामा पनि बैंक खातामार्फत पहिलो किस्ता रकम भुक्तानी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सहसचिव यमलाल भुसालले बताए । ‘सम्बन्धित जिल्लामा पहिलो किस्ता वितरणका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम अघि बढिरहेको छ,’ भुसालले भने, ‘कुन ठाउँमा कुन बैंक सहज हुन्छ भन्ने कुरा गाउँपालिका र नगरपालिकाबाट सिफारिस आएपछि नेपाल बैंकर्स संघसँगको सहकार्यमा बैंक तोकेर खाता खोल्ने व्यवस्था मिलाउँछौँ ।’

प्राधिकरणले बैंकको टुंगो लाग्नेबित्तिकै रकम वितरण सुरु गर्ने जनाएको छ । ‘यही दिन सुरु गर्ने भन्ने त टुंगो लागेको छैन, बैंकको टुंगो लाग्नेबित्तिकै पैसा वितरणको काम अघि बढाउनेछौँ,’ भुसालले भने, ‘१४ जिल्लाको अनुभवबाट पाठ सिकेर हामी अघि बढ्छौँ ।’

पुनर्निर्माण प्राधिकरणले गरेको वर्गीकरणअनुसार लमजुङ, चितवन, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपसारी, भोजपुर, धनकुटा र संखुवासभाका भूकम्प पीडितले अब पैसा पाउने छन् ।

यी जिल्लाका पीडितलाई तत्काल ७८ करोड ७१ लाख रुपैयाँ वितरण हुनेछ । –नयाँ पत्रिका दैनिकबाट