६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


म्यादी प्रहरीको पोसाक अन्योलमा, सिलाउनै एकसाता लाग्ने


0
Shares

गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ ।

तर, शनिबारसम्म म्यादी प्रहरीको पोसाकको टुंगो लागेको छैन । कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई पोसाक खरिद गर्न समय पुग्ने अवस्था छैन ।

जसका कारण म्यादी भर्ना लिइरहेका जिल्ला प्रहरी कार्यालयहरू अन्योलमा छन् ।

‘तालिम अगाडि नै उनीहरूलाई युनिफर्म दिनुपर्छ,’ एक जिल्लाका एसपी भन्छन्, ‘अब पाँच दिन मात्र बाँकी छ, कसरी युनिफर्म दिने केही टुंगो छैन ।’ यस सम्बन्धमा गृह मन्त्रालयले हालसम्म निर्णय गरेको छैन ।

स्रोतका अुनसार उनीहरूलाई ड्रेसकोड तोकेर नगद नै दिई युनिफर्म किन्न लगाउने तयारी भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको ड्रेस खरिदका लागि समय अभाव भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

तर, पाँच दिनअघिसम्म पनि सरकारले निर्णय नगरेकाले निर्णय गरेर बजेट बिनियोजन भई म्यादीको हातसम्म पुगेर पोसाक सिलाउन कम्तीमा एक साता लाग्ने देखिन्छ ।

गृहले समयमै योजना बनाएर काम नगर्दा यस्तो समस्या आएको हो । म्यादीलाई लठ्ठीसमेत अभाव रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

७५ जिल्लाबाटै म्यादी प्रहरीमा भर्नाको प्रक्रिया सुरु भइसकेको छ । म्यादीमा भर्ना हुन एक लाख ७२ हजार नौ सय ७६ जनाले आवेदन दिएका छन् ।

भर्ना भएकालेहरूले प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँ तलब पाउछन् । ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । -नयाँ पत्रिका दैनिकबाट