
एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ मा सप्तरीको मलेठमा भएको सभामा एमाले र मधेसी मोर्चा कार्यकर्ताको झडपमा प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु हुनुका साथै दर्जनौं नागरिक–सुरक्षाकर्मी घाइते भएका थिए ।
मानवअधिकार समितिले घटनाको चार दिनपछि मोख्तार अहमदको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले आइतबार सप्तरी घटनाका सम्बन्धमा समितिसमक्ष स्थलगत अध्ययन प्रतिवेदन पेस गर्दै सप्तरी घटनाका मृतकको छाती, टाउको र पेटमा गोली लागेको, अधिकांश घाइतेको पनि घुँडाभन्दा माथि गोली लागेको देखिएको बताएको छ ।
यसरी गोली प्रहार गर्नु स्थानीय प्रशासन ऐन, २०२८ विपरीत भएकाले जथाभाबी गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न उपसमितिले सिफारिस गरेको हो ।
सुरक्षाकर्मीलाई हतियार प्रयोगका सम्बन्धमा चेतनामुलक अभिमुखीकरण निम्ति सरकारको ध्यानाकर्षण गराउनसमेत उपसमितिले समितिलाई सुझाव दिएको छ ।
संयोजक अहमदसहित उपसमितिमा श्यामसुन्दर टिवडेवाल, दुलारी हरिजन र बसुन्धरा रोकाय सदस्य थिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्