Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


धनगढीमा डिपिएल क्रिकेट सुरु, पहिलो खेलमा अत्तरिया र काठमाडौं भिड्ने


0
Shares

प्रतियोगिताको उद्घाटनका लागि खेलिएको च्यारिटी खेलमा नेपाल एघार विजयी भएको छ ।

कैलालीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न सहयोग पुर्‍याउने उदेश्यले खेलिएको मैत्रिपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पारस खड्का नेतृत्वको नेपाल-११ टिमले पदम केसी नेतृत्वको धनगढी-११ लाई ३१ रनले पराजित गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँंदै १ सय ६१ रन बनायो ।

कप्तान खड्काले ४४ बलमा ६८ रन तथा बसन्त रेग्मीले ४३ रन जोडे । विक्रम ठगुन्नाले २१ रन खर्चदै ४ विकेट लिए ।

जवाफमा धनगढी ११ ले ८ विकेटको क्षतिमा १ सय ३० रन मात्रै बनाउन सक्यो । सुनिल धमलाले ३४ रनको योगदान दिंदा शक्ति गौचनले २४ रन खर्चेर ३ विकेट लिए ।

डिपिएल क्रिकेटका प्रतिस्पर्धात्मक खेलहरु आजबाट हुनेछन् ।

आज पहिलो खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स भिड्दा दोस्रो खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स र बिनोद भण्डारीको कञ्चनपुर आईकोनिक भिड्ने छन् ।