२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पुलिसलाई हराउँदै आर्मी समूह विजेता, सुशन भारीले लिए ६ विकेट


0
Shares

कीर्तिपुर मैदानमा आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा आर्मीले पुलिस क्लबलाई ७ विकेटले हरायो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २६औं ओभरमा अलआउट हुनुपूर्व १०९ रनमात्रै जोड्यो ।

पुलिसका लागि दिलीप नाथले ५० रन र दीपेन्द्रसिंह ऐरीले २२ रन जोड्दा अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन् । पुलिसलाई सस्तैमा समेट्न आर्मीका सुशन भारीले ६ विकेट लिए ।

जवाफमा ११० रनको सामान्य लक्ष्य आर्मी क्लबले ३१औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीका लागि विनोद भण्डारीले अविजित ४६ रन तथा नरेश बुढाऐरले अविजित ४१ रनको योगदान दिए ।

जितसँगै आर्मी समूह विजेता बन्न सफल भयो । दोस्रो स्थानमा रहेको पुलिस पनि यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल भने समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिताअन्तर्गत् समूह ‘ए’का खेलहरु सोमबारदेखि हुनेछन् । पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ टिम र पश्चिमाञ्चल भिड्नेछन् ।