
-लाओस राई
सबै जनतालाई समान सम्मान र एकरुपतापूर्ण ब्यबहार गरिरहनु चाँही राज्यको दायित्व भित्र पर्दछ । त्यसकारण जुन देशमा, राज्य र जनताको सम्बन्ध अत्यन्त सुमधुर, भावनात्मक र संगठित हुन्छ त्यो देश कमजोर हुने कुर आउंदैन । फेरी देश बलियो हुन जनताको जनतासँग प्रत्येक इकाईको अर्को इकाई सँग र एक फरक समुदायको समाजको अर्को भिन्न भाषा सस्कृति भएको पृथक समाजसँगको अन्तरसम्बन्धमा कुनै तिक्तता, बैमनस्यता, बैरभाव र सत्रुतापूर्ण ब्यबहाररहित हुन पर्दछ । यदि ति विभिन्न अभायवहरु मध्ये कुनै एक पक्षमा मात्र सम्बन्धमा सन्तुलन राख्न सकियन भने वा ति पक्षहरुमा तिक्तताको अवस्था सृजना हुन जाँदा त्यसले एकाई देखि सिंगो देशमा समस्या उत्पन्न गराउँदा ।
त्यसकारण त्यस्ता घातक र समग्र देशलाई अहित हुने प्रकृतिको घटना, परिघटनाहरु हुन नदिनु राज्यको पहिलो जिम्मेवारी हुन जान्छ । अर्को तर्फ जनताको काम छैन भन्न खोजेको होईन । समग्र जनताको कार्य भन्नु नै राष्ट्रियताको रक्षा गर्नु हो । यो जनताको राज्यप्रति गर्ने कर्तब्य पनि हो । यसकारण भन्न सकिन्छ कि राज्य र जनताको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण हुनु जरुरी छ । यी तिनै महत्वपूर्ण पक्षहरुको सुमुधुर अन्तर सम्बन्धित सम्बन्धले मात्र सबैको परिचयलाई जीवित राख्न सक्दछ । अन्यथा सबैको अस्तित्व समाप्त हुन जान्छ ।
किन कमजोर बन्दै छ बिचार ?
पहिलो कुरा बिचार उत्त्पन्न हुनको प्रसङ्गबाट यसको मजबुदी र कमजोर दुवै पक्षमा प्रकाश पार्दा उपयुक्त हुने देखिन्छ । मानब समाजको प्रारम्भिक अवस्था देखि आजको आवस्थासम्म आइपुग्दा समयसँगै विभिन्न प्रकारका सामाजिक तथा राजनैतिक बिचारहरु आए गए । समयानुसार नयाँ स्वरूपमा आउनुलाई अन्यथा लिन हुदैन । त्यसलाई स्वभाविकरुपमा लिन उचित हुन्छ । त्यसकारण बिचारमा गहनता, ब्यबहारिकता, बैज्ञानिकता कत्तिको छ भन्ने पहिचान गर्न सक्नु मुख्य कुरा हुन जान्छ । आदिम समाजमा स्थापित सामाजिक संस्कार र राजनैतिक बिचार तात्कालिन समयमा उपयुक्त र सान्दर्भिक थियो । आज त्यो बिचारद्वरा स्थापित नियम कानुन लाद्नु खोज्यों भने त्यो मुर्खतापूर्ण काम शिवास अरु केहि हुन सक्दैन । त्यसकारण प्रत्येक पुरानो बिचारलाई पाठकै रुपमा मात्रै लिंदा उचित र उपयुक्त हुन्छ । राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने आजसम्मको सर्बाधिक चर्चित बिचार भनेकै मार्क्सवादी बिचार हो भनेर चर्चा गरको पनि पाउँछौ । यो चर्चालाई सर्वथा असत्य र झुटा भन्न पनि सकिदैन । २१ औं शताब्दीको तेस्रो दसकसम्म आइपुग्दा पनि निकै लोकप्रिय भई रहनु र पुरानो बिचारको समुल अन्त्य गर्न युद्दरत भएता पनि सफल भएको देखिदैन । तथापी यो विचारधारा र विचारकहरु रुपान्तरित भई नै रहेका छन् ।
नेपालको सन्दर्भमा राजनैतिक बिचार, सिद्दान्त र निर्माण वा रचना भएको खासै पाइदैन । यद्यपी त्यस्तोखाले बिचारको निर्माण हुँदै नभएको भने होइन् । बंशबादी परम्परामा आधारित राजतन्त्रको कमजोरी र भारदारियाहरुको विद्रोह पश्चात निर्माण भएको राणाकालको अन्त्यको निमित्त निर्माण भएको वीपी काइरालाको समाजबादी बिचार नै नेपाली राजनीतिमा पहिलो राजनीतिक बिचार हो भन्दा फरक पर्दैन । अर्कोतिर प्रगतिशिल बिचारको प्रभावबाट प्रभवित मदन भण्डारीको बहुदलीय जनवादी बिचार पनि तत्कालिन अवस्थामा अत्यन्त तन्दुरुस्त र शसक्त ढंगबाट फरक बिशेषताका साथ स्थापित भए । यति हुँदाहुँदै पनि यी दुई बिचारले पनि नेपाली समाजको रुपान्तरण गर्न सकेन भन्ने प्रमाणित गर्दै मार्क्सवादी द्वन्दबादमा आधारित दीर्घकालीन जनयुद्धद्वरा निर्मित बिचारलाई चुनौती दिंदै धर्म संस्कारलाई राजनीतिक एजेन्डा बनाउने दक्षिणपन्थी अवसरबादीहरु पनि गणतन्त्रमा सिंगौरी खेल्दै छन् । यी यस्ता अबसरबादी झुण्डसंगको संगतले गर्दा परिवर्तनकारी शक्तिहरुको बैचारिक स्खलन हुँदा लोकतन्त्र कमजोर र समग्र बिचारहरु कमजोर बन्दै गएको छ ।
आश गर्नु ब्यर्थ
हरेक क्रान्तिकारी आन्दोलन सफल गर्नको निमित्त नेपाली जनताले सहयोग गरेका छन् । नगरेको भन्ने अलिकति पनि सोच्ने हो भने जनताको सराप लाग्नेछ । त्यसकारणले पनि जनता सम्माननीय छन् जसले बिना स्वार्थ बलिदानी दिए उनि सम्मानको पत्र हुन् । तर जव ब्यबस्था परिवर्तन हुन्छ , बिभिन्न पात्रहरु सत्ताको बागडोर सम्हाल्न पुग्छन्, अनि हिजो विर्सन्छन् । जनता विर्सन्छन् । बिगतको फ्याउरो, सिंह झैँ गर्जन्छन् । उल्टै जनतालाई नै खान खोज्छन् । यस्तो हुँडार प्रवृतिका पत्रहरुसंग जनताले तरक्कीको आश गर्नु व्यर्थ हो । यसो भनिरहंदा यो पुस्तालाई परिवर्तन गर्न भने त्यति सजिलो छैन । यो पुस्ताले नेपाली जनतालाई समय अनुसार बिभिन्न खाले आशा देखाउने गरेका छन् । त्यस्तै चकलेटी योजनाहरु भर्खर बिदा लिएका पुष्पकमल दाहाल सरकारले गरेका छन् । महत्वकांक्षी कुरालाई निरन्तरता दिएका छन् । यो भन्दा हाँस्यास्पद कुरा त स्वास्थ्य मन्त्रीले घोषण गरेको एक बिज्ञापनमा पोषिलो आहारा र एकलाख युवालाई लघु उद्यमी बनाउने हावादारी घोषणालाई लिन सकिन्छ । पहिलो कुरा स्वास्थ्य मन्त्रीको पोषिलो खानेकुरा खाउँ भन्नेमा केन्द्रित हौं ।
मन्त्रीलाई थाहा नै छैन रहेछ नेपालमा २५ प्रतिशत जनता गरिबीको रेखामुनी छन् र गरिबीको कारणले जुन घरमा बिहान खाए बेलुकी के खाउँ ? बेलुकी खाए बिहान के खाऊँ ? को अवस्था छ । त्यस्तो जनतालाई पोषिलो आहारा खाउँभन्दा हाँस्यस्पद कुरा भन्दा अरु केहि हुनै सक्दैन । किनभने जुन घरमा नुन र तेलको समस्या छ । पिठोको समस्य छ । आफ्नो भान्सामा परिकारहरु पाकेको देख्दा अरुलाई पनि त्यस्तै खाँउ भन्नलाई सजिलो हुन्छ तर गरिबको समस्या अर्कै छन् । जनतालाई ‘यो खा त्यो खा’ भन्नु भन्दा पहिले किन खान सकेन भन्ने तर्फ सोच्नु पर्थ्यो । जनतालाई खान सिकाउनु पर्दैन । राज्यले खान सिकाउने होईन । राज्यको दायित्व, कर्तब्य भनेको जनतालाई काम दिने हो । रोजगारीको अबसर सिर्जना गर्ने हो । उमेर ,योग्यता, क्षमता अनुसारको काम प्रदान गर्नु हो । हाल तथ्यांक अनुसार चारलाख तीसहजार बालबालिका कुपोषणबाट ग्रसित हुनु दुर्भाग्य नै हो । यस्तो अवस्थामा पोषिलो कुरा खान सिकारहुनु भनेको खान नजानेर होईन खान नपाएर भन्ने हेक्का राख्न पर्थ्यो । त्यसैले जिम्मेवार मान्छेले चाउचाउको बिज्ञापन जस्तो गर्ने होइन ।
नयाँ पुस्ताको भनिएका गरिबी निवारण मन्त्री हृदयराम थानीको कार्यकाल भने रुँदैमा बित्यो । उनको कुरै भएन । बिचारा गरिबी मन्त्रालय गरिब छ के गर्ने ? रह्यो कुरा एकलाख युवालाई लघु उद्यमी बनाउछु भन्दै उर्लने मन्त्री नविन्द्रराज जोशीको कुरा । बिस बाइस वटा अल्लोको प्रसोधन गर्ने मेशिन विस्तार गर्दैमा, बन्द भएको एक औषधि मेसिन चल्दैमा र प्रतिबद्धताको लगानी सम्मेलन गर्दैमा वहा–वहाई कमाएका मन्त्रीले एकलाख युवालाई उद्यमी बनाउछु भनेको त बिदेसिएका पचासौं लाख युवालाई देशमा नै ल्याउँछौ भन्ने जस्तो हावादारी कुरामात्र हुन्छ ।
के यहि अवस्थामा बिदेसिएका युवाहरु फर्कने सम्भावना छ ? फर्काउन सके राम्रो हुन्थ्यो तर त्यो सम्भावना छैन । त्यसका कारणहरु मध्ये प्रथम त प्रशासनिक झन्झट, दोस्रो राजनीतिक अस्थिरता जस्ता कारण हुन । यी बाहेक धेरै कारणहरु छन् जसले गर्दा नेपाली उद्योग धरासायी भएका छन् । फेरी बिदेशिएका पचासौं लाख युवाहरु फर्कने हो भने तिनीहरुको रोजगारीको ग्यरेन्टि राज्यले लिन सक्छ ? देशमा रहेका युवा उद्यमी र उद्यमशीलताको वास्ता नगर्नेले ठुलो कुरा गर्ने ? त्यसैले यहाँ त ठूलो कुरा कसले गर्ने भन्ने प्रतिस्पर्धामा नै केन्द्रित हुनेगरेका सबै कुरा हावादारी हुन् भन्ने कुरामा शंका गर्न पर्दैन । त्यसकारण आन्दोलनको बियुत्पति मानिएका पात्रहरुको गति त यस्तो हावादारी र सस्तो बिज्ञापन मात्र भएपछी पुरानो पन्चेपटके नेतृत्वबाट देशको बिकास हुनेमा आशा गर्नु ब्यर्थ मात्र हुनेछ ।
पात्रले प्रबृत्ती सुधार्नुपर्छ
प्रचन्ड नेतृत्वको सरकारले विदा लिएर गइसकेलगत्तै देउवा नेतृत्वको सरकार विराजमान भएको छ । यहाँ मन्त्री बन्ने र बनाउने विषयले बुढानिलकन्ठ दरबारमा भीड बढेको छ । मन्त्रालयको बागडोर सम्हाल्न चर्चामा आएका पात्रहरुको प्रबृत्ति र दृष्टिकोणलाई विश्लेषण गर्ने हो भने यिनीहरुमा पनि कुनै लोभलाग्दो भिजन र कार्यशैली पाउन सकिदैन् । गुट र कोटरीका प्रियहरुलाई च्यापेर देशलाई समृद्ध बनाउने परिकल्पना गर्नु उत्तम पटक्कै हुनेवाला छैन् ।
नयाँ पुस्ताका राम्रालाई अवसर दिएर बर्तमान पुस्ता विश्राम लिनु नै आजको आवश्यक्ता हो । पटक पटक मन्त्रालय सम्हालेका पात्रहरुको कार्यशैली र भिजनलाई जनताले नापिसकेका छन् । जनता भन्दैछन् ति पात्रहरुले देशलाई केही नापेनन् । केवल आफ्ना कोटरीका कार्यकर्ता र आसेपासेहरुको भरणपोषण गर्ने बाहेक अरु काम भएका छैनन् भन्दा कुनै अन्याय हुँदैन् । त्यसैले नयाँ पुस्तालाई खुलमखुल्ला भन्नै पर्छ अब यो पुस्तालाई विश्राम दिएर नयाँ पुस्ताले बागडोर सम्हाल्नु पर्छ । यो पुस्ताको शैली र प्रबृत्ती पुरानै हो । व्यवहार र दृष्टिकोण पुरानै हो । समयसापेक्ष यो पुस्ता परिवर्तन हुनेवाला छैन् । त्यसैले अब नयाँ पुस्ताले हिम्मत गर्नैपर्छ ।
-(लेखक नेपाली कांग्रेसका युवा नेता हुन)
प्रतिक्रिया दिनुहोस्