शुरज थपलिया
नेपाली कांग्रेसभित्र यतिखेर भित्र-बाहिर महाधिवेशनको चर्चा हुन थालेको छ । १५ औं महाधिवेशनको चर्चाले पार्टीका कार्यकर्तालाई गसिपको वातावरण बन्न थालिसकेको छ ।
पार्टीको विधानअनुसार चार-चार वर्षमा महाधिवेशन हुनुपर्छ । लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी मानिएको दललाई सबैभन्दा बढी चुनौति नै समयमा अधिवेश गर्नु हो । सोही अनुसार अधिवेशन भएमा आगामी २०८२ मंसिरमा कांग्रेसको १५औं महाधिवेशन हुनुपर्छ । एक वर्ष सार्ने विधानत व्यवस्था अनुसार २०८३ भन्दा पर जान मिल्दैन ।
गत हप्ता नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला डा. शेखर कोइरालाको सचिवालय विशाल नगर पुगिन् । १५ औं महाधिवेशनको सम्मुखमा पुग्नुले यसलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।
सुजाता एक्लै गइनन् । उनी आफ्नो कार्यकर्ता दलबलसहित पुगेकी थिइन् । जसले राष्ट्रिय सञ्चार माध्यममा समाचार बन्यो । जहाँ उनले भनेकी थिइन्,’ अबको नेता डा. शेखरलाई मानौँ । उनले तत्कालै दाजुलाई सहयोग गर्छु भनेर उद्घोष गरिन् । कोइराला परिवारको बेमेलका कारण पटक-पटक नेतृत्त्वमा पुग्ने अवसर भए पनि अवसरविमुख भएका छन् ।
त्यसैले पनि होला १४ औं महाधिवेशनमा डा. शेखरले सभापति बन्ने अवसर गुमाए । पाएको अवसर गुमाए परिवारको बेमेलको कारण भन्दा पनि हुन्छ ।
कोइरालाको सचिवालयमा पुगेर परिवार कमजोर बन्दा र नेतृत्व गुम्दा नेशन कमजोर भएको उनको तर्क थियो । उनले आफू डा. शेखरलाई सभापति बनाउन सँगै उभिने मात्रै बताइनन् भाइ डा. शशांक कोइरालालाई पनि सँगै ल्याउने बाचा गरिन् ।
हामी जहाँ छौँ शशांक पनि यही ठाउँमा आउनुपर्छ र हामी ल्याइ छाड्छौँ कार्यकर्तालाई साक्षी राखेर उनले भनेकी थिइन् । डा. शेखरले पनि आफूहरुबीच केही विवाद नरहेको बताए ।
उनले कार्यकर्ताहरुलाई समेत विवाद नगर्न सुझाए । १४औं महाधिवेशनपछि लामो समय एकअर्कासँग नभेटेका सुजाता र शेखर एकै ठाउँमा देखिनुले नेपाली कांग्रेसको राजनीतिमा छाल ल्याएको छ । यो छालले अधिवेशनमा क(कसलाई बगाउँछ त्यो भने अधिवेशन किनारा लाग्दै गर्दा थाहा हुन्छ ।
कोइराला परिवारको राजनीतिक विरासत
जहानीय राणा शासन अन्त्यको सुरुवात गर्ने परिवार कोइराला परिवार हो । पिताजी कृष्णप्रसाद कोइरालाले राणाहरूलाई जनताका थोत्रा कपडा उपहार पठाएर राणाविरुद्ध आन्दोलनको सुरुवात गरेका थिए ।
राणा शासनको पतन भएसँगै कोइराला परिवार नेपाली राजनितीको केन्द्रबिन्दुमा रहँदै आएको छ । उनीहरूको वरिपरि नेपाली राजनीति घुमिरहेको छ । हरेक युगले केही सन्देश दिन्छ भने जस्तै कोइराला परिवार सन्देश बोक्न उचित पात्रको पर्खाइमा छ ।
कृष्णप्रसाद कोइरालाको तीन भाइ छोरा मातृका प्रसाद कोइराला, बिपी कोइराला र गिरिजाप्रसाद कोइराला यो देशको प्रधानमन्त्री भए । बिपीदेखि शुसील कोइरालासम्म आइपुग्दा देशको साथसाथै कांग्रेसको नेतृत्वपनि कोइराला परिवारकै हातमा थियो ।
२०७३ मा शुसील कोइरालाको निधनपछि कांग्रेसको बागडोर सभापति शेरबहादुर देउवाको हातमा गयो । १३ औं महाधिवेशनमा कोइराला परिवारको साथ पाएर सभापतिमा चुनावी मैदानमा उत्रिएका अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल देउवासँग पराजित भए ।
१४ औं मा शेखर सभापतिमा उम्मेदवार बने पनि विजयी हुन सकेनन् । आफ्नै भाइ शशांक र बहिनी सुजाताको असहयोगका कारण शेखर पराजित भएका थिए । कोइराला परिवारका विश्वासपात्र मानिएका पौडेलले पनि शेखरलाई असहयोग गरे । यसरी कोइराला परिवारमै कांग्रेसको नेतृत्व फर्काउने शेखरको चाहना असफल भयो ।
किन असहयोग गरे ?
शेखर, सुजाता र शशांक तीनै जना पिता कृष्ण प्रसादका नाति नातिना हुन् । शेखर केशवका कान्छा छोरा हुन् । सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् भने शशांक बिपीका छोरा हुन् ।
शुसील कोइरालाको निधनपछि पहिलो पटक २०७४ साउन २ गते शशांकको घरमा शशांक, सुजाता र शेखरको लञ्च मिटिङ भयो । त्यसपछि कहिले शशांक त कहिले सुजाताको घरमा तीन कोइरालाको नियमित भेटघाट भइ नै रहेको थियो । भेटमा उनीहरूले पारिवारिक कुरासँगै राजनैतिक अवस्थाबारे पनि छलफल गर्थे ।
१३ औं महाधिवेशनमा शेखर महामन्त्रीमा लड्न चाहन्थे । भाइ शशांकले रहर गरे । साथै सभापतिका उम्मेदवार पौडेलको नजरमा पनि शशांक परे । शेखर पछि हटे र केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा शेखरलाई एक हुल कार्यकर्ता आएर सभापतिमा कोइराला परिवारबाटै उम्मेदवार हुनुपर्छ भनेर अड्डी कसे । तर शेखरले कोइराला परिवारको सभापतिको उम्मेदवार पौडेल नै हुने भन्दै हकारेर पठाएका थिए । तर १४औं मा पौडेलको साथ भने शेखरले पाएनन् ।
१३औं महाधिवेशन पछि शेखर देश दौडाहामा निस्किए । शेखरलाई पत्रकार र नागरिक समाजका अगुवाहरुले सभापति को हो भन्ने प्रश्न गर्थे । भाइ बहिनीसँग सल्लाह गरेर सभापतिको उम्मेदवार हुने शेखरको जवाफ हुन्थ्यो ।
उता शशांक र सुजाताले पनि कोइराला परिवारबाट एक जनामात्रै उम्मेदवार हुने बताउँथे । महाधिवेशनको पूर्वसन्ध्यासम्म कोइराला परिवारको बेमेल सतहमा देखिएको थिएन ।
शेखर शशांकले शेखरकै निवासमा बसेर पदाधिकारीदेखि सदस्यसम्म टुंगो लगाएका थिए । सबैको टुंगो लगाएर शेखरको घरबाट शशांक बाहिरिए । भोलिपल्ट साढे सात बजे शशांक निवासमा पुनः दाजुभाइ भेट्ने र ९ बजे सभापति शेखर हो भनेर शशांकसँगै बसेर पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो ।
पत्रकार सम्मेलनको खबर गर्ने जिम्मा दुवैको सचिवालयलाई दिइएको थियो । दाजुभाइको गोप्य सल्लाह शशांक बाहिरिनासाथ धुँवा जस्तै बाहिरियो । रातारात त्यो कुराले अर्कै स्वरुप लिइसकेको थियो । यसबारे शेखर बेखबर थिए ।
भोलिपल्ट बिहान साढे ७ बजे शशांकको घरमा शेखर पुगे । पत्रकार सम्मेलनको खबरको जिम्मा शशांकको सचिवालयका सुरज उप्रेती र शेखरको सचिवालयबाट दिनेश चन्द्र थपलियालाई दिइएको थियो । तर, शेखर बाहिरिएसँगै थपलियालाई बोलाएर शशांकले जरुरी कामले संखुवासभाको खादबारी जानुपर्ने भएको र उताबाट फर्केपछि प्रेसमिट गरौं भनेर खादबारी हानिए ।
शेखरको सचिवालयले संखुवासभामा ताकेता गर्दा पूर्व निर्धारित कुनै कार्यक्रम नभएको जानकारी पायो । महाधिवेशनको पूर्वसन्ध्यामा शशांक तीन दिनसम्म खादबारी बसे ।
त्यसको व्यवस्थापन दीपक खड्काले गरेका थिए । दीपक उनै पात्र थिए जो कोइराला परिवार एक हुनबाट रोक्न चाहन्थे । शशांकको टीममा बसेर उनी देउवाको खास पात्र बनेर काम गर्थे । उनले कोइराला परिवार मिल्न नदिएर देउवाको विश्वासपात्र बनिरहे । उपहार स्वरुप अहिले केपी क्याबिनेटमा उनी मन्त्री पनि छन् ।
घटना परिघटना चल्दै गर्दा शेखर सभापतिको रेसमा अगाडि बढ्दै थिए । कोशी प्रदेशको अधिवेशनको दिन शेखर र सुजाताबीच दुई घण्टा शेखर सभापतिको उम्मेदवार बन्ने र सुजाताले सहयोग गर्ने विषयमा कोइरालानिवासमा छलफल भयो ।
सुजाताले सहयोग गर्ने जनाउ दिइन् । शेखर ढुक्क भएर काठमडौं फर्किए । जब महाधिवेशनको कुरा आयो शशांक शेखरको सम्पर्कमा आउनै चाहेनन् भने सु्जाता प्रकाशमान सिंहको उपसभापति लड्ने भनेर सञ्चारमाध्यममा समाचार आयो ।
शशांकले कहिले भेट्नै खोजेनन् भने कहिले विभिन्न बहानाबाजी बनाएर भेट्नै चाहेनन् । महाधिवेशनको नोमिनेसन भयो । एकातिर शशांक, सुजाता अर्कोतिर रामचन्द्र पौडेल कसैको साथ नपाएका शेखरले उम्मेदवारी दर्ता गरे ।
महाधिवेशनको मतदानको अघिल्लो दिन फेरि शशांक र शेखरबीच कुराकानी भयो । साँझ ५ बजे अनुपम फूडल्याण्डमा पत्रकार सम्मेलन गर्ने भनियो । ५ बजे गर्ने भनिएको पत्रकार सम्मेलन ८ बजेसम्म कुरियो । महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजालले पटक पटक पत्रकारलाई शशांक कोइाला आउँदै हुनुहुन्छ प्रतिक्षा गर्नु भनेर आस्वस्त पार्दै गरे । जब ८ बज्यो शशांक कोइराला सम्पर्कविहीन भए ।
शेखर एक्लै परे
१४ महाधिवेशनमा सभापतिमा चार उम्मेदवार थिए । शेरबहादुर देउवा, शेखर, प्रकाशमान सिंह र विमलेन्द्र निधि । मतदानको दिन निधि र शेखरबीच मतपरिणाममा जो दोस्रो हुन्छ उसले सघाउने मौखिक सहमति भयो । सिंहले पनि यसमा सहमति जनाएका थिए । निधिबाहेक शेखर र सिंह दुवै इतरसमूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।
मतपरिणाम अनुसार शेरबहादुरले पहिलो मत ल्याए भने दोस्रो धेरै मत शेखरले ल्याए । शेरबहादुर र शेखरबीच दोस्रो चरणमा चुनावी प्रतिस्पर्धा हुने भयो । दोस्रो चरणमा सहयोग गर्छु भनेका निधि र सिंहले बोली मात्रै फेरेनन् शेरबहादुरकै पक्षामा खुलेर लागे । निधि र सिंह मात्रै होइन् शशांक र पौडेल पनि शेरबहादुरकै पक्षमा लागे । शेखर एक्लै भए । उनले दोस्रो चरणमा ४० प्रतिशत मत ल्याए । शेर बहादुर दोस्रो कार्यकालका लागि सभापति भए ।
१५ औं मा के गर्लान् ?
यतिखेर पार्टीमा १५ औं महधिवेशनको चर्चा चुलिएसँगै शेखरले आफ्नो उम्मेदवारी कायमै रहेको बताइसकेका छन् । उनले सोही अनुसार नेता कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।
१५औं मा सभापति शेरबहादुर देउवा सभापतिको रेसमा नहुने भएपछि शेखरलाई सभापति हुन सजिलो रहेको कांग्रेस कार्यकर्ताहरुको बुझाइ छ । शेखरकै टिमबाट महामन्त्री बनेका गगन थापा सभापतिमा लड्छन कि भन्ने सबैको आँकलन थियो तर थापाले संसदीय दलको नेता छान्ने निर्वाचनमा आफूलाई संसदीय दलको नेता बनाउन सहयोग गर्न शेखरलाई आग्रह गर्दै १५ मा शेखरलाई सभापतिमा सघाउने वचन दिइसकेका छन् । बोलीमा अडिग र पक्का रहेको थापाको राजनैतिक इतिहास रहेकाले उनको सहयोग शेखरलाई रहने कार्यकर्ताहरू बताउँछन् ।
१४ औं मा सभापतिमा हारेपछि भाइ बहिनी नै मिलाउन नसकेर हारेको स्वीकार गरेका शेखर सकेसम्म भाइ बहिनी मिलाउने कोसिसमा छन् ।
सुजाताले पनि १४ औं मा सहयोग नगरेकोले पश्चाताप मानिरहेकी छिन् । तर शशांक भने के गर्लान् अझै अन्योलमै छ । राजनीतिमा सधैँ सम्भावनाको ढोका खुला हुने गर्छ । राजनीति भनेको नै सम्भावना हो । सम्भावना नै राजनीति हो भन्दा फरक नपर्ला ।
प्रतिक्रिया दिनुहोस्