२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


‘प्रचण्ड’ अर्थात अराजक कार्यकारी प्रमुख


3.055k
Shares

डिल्ली बसेल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते सिंहदरबार भित्रबाटै अर्को उथलपुथल गर्न बेर लाउँदिन भन्ने उद्घोष गर्नुभयो । अक्सर अराजक अभिव्यक्ति अर्थात धाकधम्कीको भाषा मात्रै बोल्ने प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति कुनै आमसभा वा आफ्ना कार्यकर्तामाझ दिनुभएको होइन । मन्त्रिपरिषद्को कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकमा प्रचण्डले यस्तो धम्की दिनुभएको हो । वरिष्ठ कर्मचारीहरुको मात्रै सहभागिता रहने बैठकमा नीतिगत छलफल, कामको समीक्षा र निर्देशन हुनुपर्नेमा प्रधानमन्त्री जस्तो प्रमुख कार्यकारीले अर्को उथलपुथल गर्छु भन्दा कर्मचारीतन्त्रमा कस्तो सन्देश जान्छ भन्ने समेत ख्याल नगर्नु विडम्वना हो ।

गत महिना एउटा सार्वजनिक कार्यक्रममा आफू नमरुञ्जेल नेपालमा उथलपुथल भईराख्ने धोषणा गरेका प्रचण्डले मन्त्रिपरिषद्को कार्यालयबाटै अर्को उथलपुथल गर्छु भनेर आफ्नो अघिल्लो अभिव्यक्ति आकस्मिक आवेश मात्र थिएन, नियोजित नै थियो भन्ने पुष्टि गर्नुभएको छ । देशको कार्यकारी प्रमुखले सधैं उथलपुथल, विद्रोह, क्रान्ति, छलाङ, क्रमभंगता जस्ता अभिव्यक्ति दिईरहँदा देशमा झन् अराजकता र अस्थिरता बढ्नेमा शंका छैन । प्रधानमन्त्री नै अराजकता बोलिरहन्छन् भने उनको सरकारमा रहेका अरु मन्त्री, पार्टीका नेता वा कार्यकर्ताले किन संयमता अपनाउनू ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

प्रधानमन्त्री प्रचण्डको उथलपुथलको अभिव्यक्ति यस्तो समयमा आएको छ, जति बेला देश विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने संघारमा छ । लगानी सम्मेलनको मितिको ठ्याक्कै एक महिना अगाडि देशको बाडडोर हातमा लिएका व्यक्तिले नै उथलपुथलको धम्की दिँदा कुन विदेशी नेपालमा लगानी गर्छु भनेर आउला ? यो गम्भीर सोचनीय विषय हो ।

प्रधानमन्त्री प्रचण्डले उथलपुथलको भाषा बोल्नु अघि आफू अझै पनि काम गर्न सकिन्छ कि भन्ने आसाले पदमा बसिरहेको हो पनि भन्नुभयो । उहाँको उक्त अभिव्यक्तिले नेपालमा काम गर्न निकै कठीन छ भन्ने सन्देश पनि गएको छ भने अझै काम गर्न सकिन्छ कि भन्ने आसा छ भन्नुले अहिलेसम्म उहाँले काम गर्न सक्नुभएको छैन भन्ने पनि प्रष्ट पार्दछ । जब देशको कार्यकारी प्रमुखले नै काम नभएको स्वीकार्छ र आवेगको भाषा बोल्नुपर्ने अवस्था छ भने त्यो देशमा विदेशी लगानीकर्तालाई कसरी आकर्षित गर्न सकिएला ? विदेशी मात्रै होइन, देशभित्रकै लगानीकर्ताले पनि कुन आशा र भरोसामा कुनै उद्यममा लगानी गर्लान् ? यसतर्फ प्रधानमन्त्री प्रचण्डले ध्यान नदिएको मात्रै होइन, यस्ता विषय उहाँको प्राथमिकतामै नपरेको बुझ्न कठीन छैन ।

सामान्यतः लोकतन्त्रमा काम गर्न नसक्ने अवस्थामा पदबाट हट्नु नै पहिलो विकल्प हो । त्यसमाथि संसदको तेस्रो शक्तिका अगाडि काम गर्न नसक्ने अवस्थामा खुरुक्क आफू भन्दा ठूला शक्तिहरुलाई जिम्मा लगाउनुको विकल्प नरहनु पर्ने हो । तर प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके अर्को उथलपुथल गर्छु भन्नु भनेको उहाँ काम गर्न नसके पनि पद छाड्ने पक्षमा हुनुहुन्न भन्ने बुझ्न कठीन छैन । पद नछाड्ने तर उथलपुथल गर्ने धम्कीले राजनीतिक अवस्था झन् तरल हुने र देशमा अस्थिरता अझै बढ्ने स्पष्ट संकेत गर्दछ ।

२०६३ सालको जेठमा भूमिगत जीवन त्यागेर सार्वजनिक राजनीतिमा आएदेखि नै प्रचण्डका अभिव्यक्तिहरु सधैं धम्कीपूर्ण रहँदै आएका छन् । क्रान्ति, विद्रोह, पुनः जंगल जाने, क्रमभगता, छलाङ, उथलपुथल जस्ता अराजक भाषा प्रयोग गर्दै उहाँको राजनीति अहिलेसम्म चलिरहेको छ । प्रचण्डलाई नजिकबाट चिन्नेहरु चाहीँ फगत व्यक्तिगत फाइदा र शक्तिका लागि उहाँले धम्कीको भाषा बोल्ने गरेको बताउँछन् । तर कुरा यत्ति मात्रै होइन, आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने नेपाली कांगेस र एमाले पनि उत्तिकै जिम्मेवार छन्, प्रचण्डलाई यसरी बेलगाम घोडा बनाउनमा । भूमिगत कालदेखि नै तत्कालिन विद्रोही माओवादीसँग को नजिक हुने ? भन्ने होडमा रहेका कांग्रेस र एमालेलाई सार्वजनिक राजनीतिमा आएपछि पनि प्रचण्डले नै घिसार्दै आउनुभएको छ ।

आफ्ना परम्परागत राजनीतिक सिद्धान्त र मान्यता प्रचण्डका पाउमा विसर्जन गरेका कांग्रेस-एमाले प्रचण्डकै राजनीतिक पथमा घिसारिँदै आएका हुन । नयाँ वैकल्पिक शक्ति भन्नेहरु पनि प्रचण्डकै क्षमादान र निगाहामा उफ्रिफाप्री गर्न बाध्य छन् । त्यसैले प्रचण्डले भने झैं उनी नमरुञ्जेल देशमा उथलपुथल र अस्थिरता चलिरहनछ, अरु सबै जिउँदा लाश बनेर रमिता हेरिरहन्छन् ।