Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


उखु बिक्री नभएपछि सखर उत्पादन गरेर मालामाल (भिडियो)


0
Shares

रविन भट्टराई

झापा, माघ २२ । सरकारले उखुको न्यूनतम मूल्य निर्धारण गरे पनि झापाका किसानलाई उखु बिक्री गर्न समस्या हुँदै आएको छ । चिनी मिलले समयमै खरिद नगर्दा लगानी नै जोखिममा पर्ने भएपछि अर्जुनधारा नगरपालिका–५ का उखु कृषक सुवास राजवंशी बारीमै मेसिन राखेर सखर बनाउन थालेका छन् ।

सुवासले सात वर्षदेखि उखु उत्पादन गर्दै आए पनि उनले भनेजस्तो मूल्य भने कहिल्यै पाउन सकेनन् । निकै दुःख र मिहिनेत गरी उत्पादन गरेको उखु बिक्री गर्दा लागत मूल्य दिन पनि हिच्किचाउने व्यवसायीका कारण उनी आजित बनेका थिए । त्यसपछि उनले मेसिन किनेर आफैँले सखर बनाउन थालेको बताउँछन् ।

सखर बनाउन बिहानदेखि बेलुकासम्म तीन कामदार र श्रीमतीसहित उनी पनि खटिन्छन् । अहिले यसबाट भने उनले छोटो समयमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

उखुले उचित मूल्य नपाउँदाको पीडामा अहिले आफैँ सखर उत्पादन सुरु गरेपछि भने राजबंशी परिवारकै जीवनमा परिवर्तन आएको छ । आफैँ उत्पादन गरेको सखरले छोटो समयमा आम्दानीसमेत बढाएको छ भने दैनिक घर खर्च पनि सहज रुपमा टर्न थालेको छ ।

उखु नबिक्दाको पीडामा सखरले केहि भए पनि मलम लगाएको सुवासकी श्रीमती उर्मिला राजवंशी बताउँछिन् ।

भाडामा जग्गा लिएर उखु खेती गरिरहेका उनले बनाएको सखर शुद्ध र गुणस्तरीय हुने भएकाले उपभोक्ताको पनि विश्वास जितेका छन् । राजवंशी जोडिले सञ्चालन गरेको सखर उद्योगबाट दैनिक १ सय केजी सखर साथै खुदो र मुरैका डल्ला उत्पादन हुँदै आएको छ ।

अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँका रुपमा परिचित हो । अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालीकराम भट्टराईका अनुसार यहाँका करीब १ सय ३५ कृषकले ७२ हेक्टरमा उखु खेती गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्

Skip This