२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


गोली हानी लुटपाटमा संलग्न मुख्य योजनाकार भारतबाट समातिए


0
Shares

प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा घटनाका मुख्य योजनाकार भनिएका उनलाई भारतको नयाँदिल्लीबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा पर्वत पकुवा घर भइ हाल चितवनको भरतपुर २७ स्थित ससुरालीमा बस्दै आएका २७ वर्षीय कृष्ण शाही ठकुरी रहेका छन् ।

उनलाई यही असार १५ गते भारतमा पक्राउ गरी चितवन ल्याएर शनिबार पत्रकार सम्मेलनमार्फत् प्रहरीले सार्वजनिक गरेको हो ।

उनीसँगै चोरीमा संलग्न रहेका अन्य दुईजनालाई चोरिएका सामानसहित यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले लुटेका गहनाहरु गालेर अर्कै गहना बनाएको अवस्थामा बरामद गरिएको थियो ।

यसअघि पक्राउ गर्नेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक छन् । उनीहरुबाट ८३ हजार नगद, पेस्तोल, गरगहना, घन, खुकुरी, रड र चक्कु बरामद गरिएको छ ।

भरतपुर महानगर वडा नम्बर–२५ स्थित शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोग गरी घन र रडले हानेर लुटपाट गरी उनीहरु फरार भएका थिए ।

लुटेराको गोली लागेर घाइते भएका स्थानीय २५ वर्षका गंगासागर महतोको उपचारकाक्रममा मृत्यु भइसकेको छ । रासस