२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बसुन्धाराको जेब्राक्रसिङमै गाडीले हानेर शिक्षिका मार्ने चालक जेल चलान


0
Shares

चालक तामाङलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम यही असार १४ गते सवारी ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरिएको हो ।

चालक तामाङले गएको जेठ २२ गते बसुन्धराचोकमा बिहान ९.३० बजे रविना चौधरीको विद्यालय पढाउन जाँदै गर्दा जेब्राक्रसिङमा हानेर ज्यान लिएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले आइतबार पत्रकार सम्मेलन गरी चौधरीलाई जेब्राक्रसिङमा मार्ने तामाङलाई ज्यान मुद्दा चलाइएको जानकारी दिए ।

उनले सवारी चलाउने भन्दै तीव्रगतिबाट लगेर जेब्राक्रसिङमा मारेका कारण ज्यान मुद्दा चलाएको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक लामाले चैत २८ देखि हालसम्म सडक तथा फुटपाथमा पार्किङ गरेको १२ हजार २९४ जना, हर्न निषेध उल्लंघन गरेको सात हजार १५६, जथाभावी बाटो काटेको ३४ हजार ७९६, जेब्राक्रसिङमा पैदलयात्रीलाई प्राथमिकता नदिने एक हजार ९२५ सवारी–साधनका चालकलाई कारबाही गरिएको जानकारी पनि दिए ।

यस्तै, महाशाखाले सवारी–साधन व्यवस्थापनलाई सहज बनाउन यातायात व्यवस्था विभागसँग छलफल गरेर उपत्यकाका ८ स्थानमा एकतर्फी तथा १३ स्थानमा दाँहिने मोड्न नपाउने व्यवस्थासमेत गरेको छ ।

महाशाखाका प्रमुख लामाले मैतीदेवी मोडबाट मैतीदेवीतर्फ, खिचापोखरीबाट एभरेस्ट बैंकतर्फ, पाटन चापागाउँबाट सातदोबाटोतर्फ, स्वयम्भूचोकबाट भगवानपाउ किमडोलतर्फ, बाटुलेघरबाट चारखालतर्फ, कृष्ण पाउरोटी चोकबाट बैंक अफ काठमाडौंतर्फ जान नपाइने व्यवस्था गरेको छ ।

यस्तै, नयाँबानेश्वरबाट भीमसेनगोलातर्फ, कान्तिपथ ज्याँठा गल्लीतर्फ, कानेदेवतास्थानतर्फ, बाँसघारी, कुमारी मन्दिर, ज्ञानेश्वर ओरालो, सोह्रखुट्टे ओरालो, अमृत साइन्स क्याम्पस, एअरपोर्टबाट गौशालातर्फलगायतका स्थानमा दाँहिने मोड्न नपाइने व्यवस्था गरेको छ ।

महाशाखाले आगामी दिनमा लामो दूरीका सवारी–साधनलाई बसपार्कमामात्र सीमित गरिने, महाशाखामा थप सीसीटीभी जोड्ने, ट्राफिक कारबाहीको अभिलेख राख्न सर्भरको व्यवस्था गर्ने, सवारी–साधन सरसफाइ तथा प्रदूषण जाँचका लागि नाकामा नै व्यवस्था मिलाउने जनाएको छ । रासस