रवीन भट्टराई
झापा, माघ १८ । झापासहितका पूर्वी जिल्ला माछामा आत्मनिर्भर हुने बाटोमा अग्रसर भएका छन् ।
पछिल्ला वर्षहरुमा किसानले व्यवसायिक माछापालन गर्न थालेपछि भारतलगायतका मुलुकबाट आयात हुने माछामा कमी आएको छ । विशेष गरी झापामा माछापालक किसानको संख्या उल्लेख्य वृद्धि भएको छ ।
बर्षौंदेखि माछाको लागि भारतसहित तेस्रो मूलुकको भर पर्नुपर्ने बाध्यतालाई पछिल्लो समय झापाले केही हदसम्म रोक्न सफल भएको हो । व्यावसायिक रुपमा झापामै माछा उत्पादन हुन थालेपछि पूर्वको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्जसहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रने माछाको आयातमा कमी आएको हो ।
सरकारले व्यावसायिक माछा पालनका लागि किसानलाई रकम अनुदान दिन थालेपछि व्यावसायिक माछा पालनतर्फ किसानको आर्कषण बढेको छ । झापामै माछाको उत्पादन बढ्न थालेपछि भारतबाट भित्रिने माछाको आयातमा कमी आएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
नाकामा चेक प्वाइन्ट रहेको पशु क्वारेन्टाइन कार्यालयको तथ्याङ्कअनुसार तीन वर्षयता पूर्वबाट हुने माछाको आयात क्रमशः ओरालो लाग्दै आएको छ । माछापालनका लागि पोखरी खन्न सरकारले अनुदान दिएपछि कृषकहरुको आकर्षण माछापालनतर्फ देखिएको छ । नेपालमै गुणस्तरीय र ताजा माछा उत्पादन हुने भएकाले माछा आयात रोक्नुपर्ने स्थानीय उपभोक्ताको सुझाव छ ।
इलाम र झापाका नाकाहरूबाट आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूमा खपत हुने गरेको छ । धेरैजना माछापालनतर्फ आकर्षित भएकाले पछिल्लो समय गौरादहलाई माछापालनको पकेट क्षेत्र मानिएको छ ।









प्रतिक्रिया दिनुहोस्