
श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाखौँ मूल्यपर्ने कार तथा मोटरसाइकल भारतबाट ल्याएर भन्सार लिलाम गरेको किर्ते कागजात महाकाली र सेती अञ्चल यातायात कार्यालयमा दर्ता गर्ने गिरोहका नाइकेलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार (हिजो) बुटवलबाट पक्राउ गरी शुक्रबार (आज) भीमदत्तनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दका अनुसार अभियुक्त श्रेष्ठले ६ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारी साधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्तागर्ने क्रममा पेशगर्ने गरेका थिए । वैधानिक रुपमा सवारी साधन छोटी भन्सार कार्यालयले लिलाम गर्न मिल्दैन ।
अभियुक्तका साथबाट रु एकलाख, दुईथान ल्यापटप, एकदर्जन गाडीका ब्लुबुक, बैंकमा राजश्व दाखिला गरेको भौचरलगायत सामग्री बरामद गरिएको छ । लिलाम प्रक्रिया पूरा गरेका कागजातसहित यातायात कार्यालय पुग्ने गरेका श्रेष्ठलाई यातायात कार्यालयले पनि आवश्यक दर्ता प्रक्रिया पूरा गर्ने गरेको देखिएको छ ।
‘किर्ते कागजातका आधारमा दर्ता गरी ढड्डामा अभिलेख राखी ब्लुबुक दिँदासम्म यातायात कर्मचारीहरुको गम्भीर त्रुटि देखियो’, प्रहरी उपरीक्षक चन्दले पत्रकार सम्मेलनमा भन्ने, ‘यहाँ दर्ता गरेर धौलागिरिलगायत अन्य अञ्चल कार्यालयमा अञ्चलीकरण गर्ने क्रममा घटनाको रहस्य खुल्यो ।’
भारतबाट नेपालतर्फ चोरीका गाडी पठाउने गिरोहका तीन भारतीयको पनि पहिचान भएको बताउँदै प्रहरीले पक्राउ गर्न भारतीयपक्षसित समन्वय गरिएको जानकारी दिएको छ ।
अभियुक्त श्रेष्ठले नेपाली नम्बर हालेका कार र मोटरसाइकल सस्तोमा बिक्री गर्ने गरेका थिए । ‘रु ६० लाख पर्ने जीपहरु २० लाखसम्म बिक्री गरेको देखियो’ चन्दले भने, ‘खरिदकर्ताहरुले पनि गाडीका कागजात सक्कली देखेपछि किनमेल गरेको देखिन्छ ।’
श्रेष्ठले महाकाली अञ्चल यातायात कार्यालयबाट सात कार, १५ थान मोटरसाइकल तथा सेती अञ्चल यातायात कार्यालयमा एकथान कार र २२ थान मोटरसाइकल दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले दर्ता खारेजीका लागि यातायात कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।
यातायात कार्यालयहरुले पनि श्रेष्ठले ल्याएका कागजात जाँच नगरी हचुवाका भरमा दर्ता गरी आवश्यक प्रमाण दिने गरेको देखिएको छ । सो अवैध कार्यमा यातायात कर्मचारीले पनि मिलोमतो गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आठ कारमध्ये पाँच कार र तीनथान मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । अरु कार र मोटरसाइकल अन्य क्षेत्रबाट नियन्त्रणमा लिएर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको पक्राउसँगै प्रहरीले म १ च ५१४, से १ च १८१०, म १ च ५२३, म १ च ५२५ र भारतीय नं प्लेटको एचआर ५१ बिआर ९३२७ नंको कार नियन्त्रणमा लिएको छ ।
त्यस्तै, से ४ प ५५३४, म २ प ६१४५ र म २ प ५८७७ नंको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्