सिंगापुरमा जारी छनोटको आफ्नो पाँचौं खेलमा सोमबार मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २२ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका रोहित पौडेलले ३७ बलमा अविजित रहँदै ३४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै १९ रन बनाए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३५ ओभर १ बलमा अलआउट हुँदै ८९ रनमा समेटिएको थियो ।
कप्तान सन्दीप लामिछानेले स्मरणीय बलिङगर्ने क्रममा ९ ओभर १ बलमा एक मेडन राख्दै १३ रन खर्चेर ७ विकेट लिए ।
सन्दीप चार राष्ट्र सहभागी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । प्रतियोगितामा तेस्रोपटक ‘म्यान अफ द म्याच’ बनेका सन्दीपले २१ विकेट लिइसकेका छन् ।
यो जितसँगै नेपाल पाँच खेलबाट ८ अंकका साथ दोस्रो स्थानमा छ । पाँचओटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ ।
प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नेपाल र अफगानिस्तान भिड्दैछन् । शीर्ष स्थानमा रहने टिमलेमात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेरमात्र पनि पुग्नेछैन निकै कम रनमा समेटेर केही बलमै जित हासिल गर्नुपर्नेछ । जुन असम्भवजस्तै छ ।
अंकगणितीय समीकरणमामात्र आशा बाँकी रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानसँग १४१ रनको हार व्यहोरेको थियो ।





प्रतिक्रिया दिनुहोस्