आईटीएफ वर्ष खेलाडी पूर्णबहादुर मगर (दायाँ), सोनी खड्का (बीच) र प्रशिक्षक घमबहादुर थापा ।
पुरुषमा त्रिभूवन आर्मी क्लबका पूर्णबहादुर मगर तथा महिलामा भक्तपुरकी सोनी खड्कालाई नगदसहित वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो ।
दुवैले गत वर्ष सातौं राष्ट्रिय खेलकुद र महासंघले आयोजना गरेको दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए ।
सोही अवसरमा घमबहादुर थापालाई उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मान गरियो भने सक्रियताका आधारमा नवलपरासी जिल्ला आईटीएफ संघलाई उत्कृष्ट संघ घोषणा गर्दै पुरस्कृत गरियो ।
सम्मानित चारैलाई समान ५–५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । जिल्ला संघको तर्फबाट अध्यक्ष ऋतमान मगरले पुरस्कार थापे ।
सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका घमले टोलीलाई दोश्रो स्थान दिलाउन सफल भएका थिए । घमले संघले आयोजना गरेको नगद पुरस्कार राशीको प्रोफेसनल प्रतियोगितामा उपाधि जितेका दिनेश बुढालाई प्रशिक्षण दिएका थिए ।
उत्तर कोरियामा हुने विश्व च्याम्पियनसिपका लागि छनोट भएका दिनेशलाई हाल घमले नै प्रशिक्षण दिइरहेका छन् ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उनीहरुलाई नगद र सम्मान पत्र प्रदान गरी त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा महासंघको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरे । त्यस अवसरमा महासंघका अध्यक्ष अञ्जन धमलाले खेलकुद मन्त्री केसीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।
सोही अवसरमा मृगौला रोगबाट पीडित आईटीएफका पूर्व खेलाडी एवं प्रशिक्षक सुरज थापालाई महासंघले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै महासंघका उपाध्यक्ष कल्पदीप राईले पनि २० हजार नगद पुरस्कार सहयोग गरे भने घमले आफूले पाएको नगद पुरस्कार समेत सुरजलाई प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले मृगौला रोगबाट पीडित थापाका विषयमा लिखित जानकारी गराउन महासंघलाई आग्रह गर्दै उपचारका विषयमा के गर्न सकिन्छ त्यसमा गम्भीर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्