कोन्काकाफ समूहअन्तर्गत्को शुक्रबार भएको खेलमा पानामालाई १–० ले पराजित गर्दै मेक्सिकोले तीन खेलअघि नै फाइनल चरणमा ठाउँ पक्का गरेको हो ।
७ खेलबाट मेक्सिकोको १७ अंक छ भने दोस्रो स्थानको कोस्टारिकाको १४ अंक छ । त्यसैगरी, अमेरिका र होन्डुरसको ८–८ अंक छ । त्यस्तै, पानामाको ७ तथा ट्रिनिडाड एन्ड टोबागोको ३ अंक छ ।
६ टोली सहभागी छनोट चरणमा शीर्ष तीन स्थानमा रहने टोली सन् २०१८ को रुस विश्वकपमा छानिनेछन् भने चौथो स्थानको टिमले छानिनका लागि अर्को अवसर खेल खेल्न पाउनेछ ।
विश्वकपका लागि अहिलेसम्म मेक्सिकोसँगै ब्राजिल, इरान, जापान र आयोजकको हैसियतले रुस छानिइसकेका छन् ।
इंग्ल्यान्डको सनसनीपूर्ण जित
विश्व विजेता जर्मनीले विश्वकप फुटबलको छनोट खेलमा लगातार सातौं जित दर्ता गरेको छ ।
आगामी सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको शुक्रबार राति भएको छनोट खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।
युरोपियन क्षेत्रको छनोटअन्तर्गत् समूह ‘सी’मा रहेको जर्मनीले चेक गणतन्त्रलाई हराउँदै छनोट चरणमा लगातार सातौं जित दर्ता गरेको हो । योसँगै २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानम छ ।
शुक्रबार राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन अयरल्यान्डको छनोट हुने सम्भावना पनि बढेको छ । सात खेलबाट १६ अंक जोडेको नर्दन आयरल्यान्ड दोस्रो स्थानमा छ ।
समूह ‘सी’अन्तर्गत्कै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।
यसैगरी समूह ‘इ’को खेलमा डेनमार्कसँग पोल्यान्ड ४–० ले पराजित भएको छ । पराजित भएपनि सात खेलबाट १६ अंक जोडेको पोल्यान्ड समूहको शीर्ष स्थानमा कायमै रहेको छ । डेनमार्क भने १३ अंकसहित तेस्रो स्थानमा छ ।
समूह ‘इ’अन्तर्गत्कै खेलमा मन्टेनेग्रोले काजखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन् ।
यसैगरी समूह ‘एफ’को खेलमा इंग्ल्यान्डले प्रभावशाली जित हासिल गरेको छ । इंग्ल्यान्डले माल्टालाई ४–० ले हराएको हो ।
पहिलो हाफमा गोल हुन नसकेको खेलमा इंग्ल्यान्डले दोस्रो हाफमा ४ गोल गर्यो । त्यसमा पनि अन्तिमको पाँच मिनेट तथा इन्जुरी समयमा ३ गोल भयो । सात खेलबाट १७ अंक जोडेको इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ ।
यही समूहको अर्को खेलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकसहित दोस्रो स्थानमा छ ।
यस्तै, शुक्रबार राति नै भएको अर्को खेलमा लिथुवानियालाई ३–० ले हराएको स्कटल्यान्डको ११ अंक भएको छ ।





प्रतिक्रिया दिनुहोस्