
आर्थिक समृद्धि एवं महिलाको सीप विकास गर्ने उद्देश्यले काठमाडौं बिजनेस एन्ड प्रोफेसनल उमन र महिला सशक्तिकरण समूहले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीमा उद्यमी महिलाले तयार पारेका विभिन्न सामग्री राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक ठूला उद्यमीले साना उद्यमीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले उत्पादित वस्तुको बजारीकरण एवं वस्तु प्रदर्शनीका लागि महानगरले प्रदर्शनीकक्षको व्यवस्था मिलाउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा इमेज च्यानलकी उपाध्यक्ष इन्दिरा मानन्धरले प्रत्येक महिलालाई समयको सदुपयोग गर्दै उद्यमशील बन्न सुझाव दिइन् ।
उनले यस्ता प्रदर्शनीले महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।
कार्यक्रममा महिला सशक्तिकरण र आर्थिक समृद्धिमा सहयोग पुर्याएको भन्दै इमेज टेलिभिजनलाई सम्मान गरिएको थियो ।
प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्