२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


नगरकोट, फूलचोकी, चन्द्रागिरिमा हिमपात


0
Shares

काठमाडौं, पुस २३ । काठमाडौंनजिकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा सोमबार हिमपात परेको छ ।

पश्चिमी वायुको प्रभावले सोमबार देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात परेको जनाइएको छ ।

काठमाडौंमा भने बिहान ९ बजेदेखि हल्का वर्षा भएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

साथै, उच्च हिमाली भू–भागका मनाङ, हुम्ला, जुम्लालगायत स्थानमा पनि हिउँ परेको महाशाखाले जनाएको छ ।

न्यूनतम् तापक्रम नघटेको भएपनि मुलुकभर बदली र हिमपात हुँदा र घाम नलाग्दा बढी चिसो महसुस गरिएको मौसमविद् कँडेलले बताइन् ।

काठमाडौंमा भने केही समय घाम लागेको छ ।

सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौंको न्यूनतम् तापक्रम १.८ डिग्री सेल्सियस थियो ।

राति देशको पश्चिमी भू–भागममा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहनेछ ।

मध्य र पूर्वी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार देशका पश्चिमी तथा पूर्वीपहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, बुधबार पूर्वीपहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वीपहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस