१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


लागुऔषध र नगदसहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, पुस २३ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीनजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–४, सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बा७७प ९९०६ र बा९२प १८२० नम्बरका स्कुटर चेकजाँचकाक्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेस, दुईथान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेलापारिएको छ ।

पक्राउ परेकासँग प्रहरीले रु चार लाख ७३ हजार १०० नेपाली रुपैयाँ, एक हजार ४०० भारतीय रुपैयाँ, २० अमेरिकन डलर, नेपाल बैंक लिमिटेडको नाममा रहेको रु एक लाख नगदको चेक र डिजिटल क्यामेरा एकथानसमेत बरामद गरेको छ ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग साँखुले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले दुई किलो गाँजा लिएर हिँडिरहेको अवस्थामा शंकरापुर नगरपालिका–४ का ४५ वर्षीय तुनुक दोर्जे लामालाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ । रासस