Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


झिलिमिली बत्तीमा झन्डै एक अर्ब खर्च


0
Shares

आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफँैले कातेको बत्ती बालेर हर्षाेल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झन्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ ।

तिहारका लागि बालिने झिलिमिली बत्तीका लागि नेपाल विदेशको भरमा निर्भर छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलकाअनुसार वार्षिक झन्डै रु ७० करोड बराबरको तिहारमा बालिने झिलिमिली बत्ती भित्रिने गर्दछ । चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत झिलिमिली बत्ती आयात हुन्छ ।

सामग्री धेरै बिग्रिने र तिहारमा बिक्री नभएमा थन्किएर बस्ने हुँदा व्यवसायीले नाफा बढी राखेर बिक्री गर्छन । जडान गर्नेले छुट्टै रकम लिने गर्दछन् । सीमा क्षेत्रमा कतिपयले भन्सार छलेर नै यस्ता बत्ती भित्र्याउने गरेका छन् ।

झिलिमिली बत्तीको सबै खर्च जोड्दा एक वर्षको तिहारमा रु एक अर्बभन्दा बढीको कारोबार हुने व्यावसायी बताउँछन् ।

महासंघका महासचिव रेशम देवकोटाकाअनुसार अधिकांश बत्ती लिडबाट बनेका छन् । बत्तीको स्वरुप फरक–फरक हुने गरेको उनले बताए । सबैभन्दा बढी एक सयओटा एलइडि बल्ब भएको १० मिटर लामा झालर बिक्री हुने गर्दछन् । यसका अतिरिक्त लिडजडित फूल, लिडबाट बनेको क्यान्डिल, क्यान्डिल पाइप, पाइप लाइट, लालटिन बल्ब, टेबल बल्ब, डिस्को लाइट, स्टिक लाइट, नेट लाइट, लेजर लाइटलगायतका विभिन्न बत्ती तिहारमा बिक्री हुने गरेको देवकोटाले बताए ।

यसअघि चीमबाट बल्ने बल्ब आयात गर्ने गरिए पनि हाल अधिकांश लिडबाट बनेका बत्ती आयात गर्ने गरिएको छ । महासंघका अध्यक्ष खरेलकाअनुसार चीमबाट बल्ने बल्बले बनेको एउटै झालरले ७० वाटसम्म विद्युत् खपत गर्ने भए पनि अहिले आउने लिडबाट बनेका झालरले बढीमा सात वाटमात्रै विद्युत् खपत गर्ने गर्छ ।

यस्ता सामग्रीको भन्सार २० प्रतिशत लाग्छ । करिब १३ प्रतिशत मूल्य अभिवृद्धि कर र व्यवसायीको नाफा जोड्दा अत्यधिक बिक्री हुने एउटा झालर रु ५० देखि रु ४०० सम्ममा बिक्री हुन्छ । तिहारमा एउटै परिवारले एक सयदेखि रु २० हजारसम्म झिलिमिली बत्तीमा खर्च गर्ने गरेको खरेलको भनाइ छ ।

कतिपय ठूला टावर र धनाढ्यको घर, पसलका अतिरिक्त बगैँंचासमेत बत्तीले सजाउँदा अरु बढी खर्च हुन्छ ।

प्रायः एक वर्ष प्रयोग भएपछि पुनः प्रयोग कमै हुने हुँदा वर्षेनी यसको खर्च बढ्दै गएको छ । उज्यालोको पर्व भनिने तिहारमा घर, पसल, कारखाना सबैमा रातभर झिलिमिली बत्तीको उज्यालो बनाउँदा लक्ष्मी खुशी हुने भन्ने मान्यता रहिआएको छ ।

महासंघमा दुई हजार व्यवसायी आवद्ध छन् । प्रमुख शहर भएको १९ जिल्लाका व्यवसायीमात्रै महासंघमा आवद्ध छन् । खरेलका अनुसार अरु नेपालमा चार हजारको हाराहारीमा व्यवसायीले यस्ता सामग्री बिक्री गर्ने गरेका छन् । रासस