१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


भ्रष्टाचारविरुद्ध अझै कठोर कदम चाल्ने राष्ट्रपति सीको चेतावनी


0
Shares

कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका नेता सी चिनफिङले कंग्रेसलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको कारबाही अझ सशक्त बनाइने चेतावनी दिएका छन् ।

यतिखेर देशभित्रै भ्रष्टाचारविरुद्ध लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्ने उनले प्रष्ट पारेका छन् । भ्रष्टाचार नै चीनका लागि अहिले प्रमुख चुनौती भएको सीको भनाइ थियो । आफू राष्ट्रपति भएदेखि भ्रष्टाचारविरोधी अभियान सुरु गरेको भन्दै उनले अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी दिए ।

भ्रष्टाचारका विषयमा शून्य सहनशीलता हुने भन्दै राष्ट्रपति सीले यो देशकै लागि ठूलो चुनौती हो, भने । उनले घुस लिनेमात्र नभई घुस दिनेलाई पनि कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए ।

भ्रष्टाचार नियन्त्रण अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारी कारबाहीमा परेको जानकारी पनि उनले दिएका छन् । समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको उनको दाबी छ ।
कंग्रेसले आगामी पाँचवर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्ने छ । बैठकले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्ने छ । चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ ।

एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सी चिनफिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने सम्भावना रहेको बताइएको छ । एजेन्सी