१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


0
Shares

ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर–विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते राजवंशीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय विश्व राजवंशी गम्भीर घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङकै बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपिओ गाडीको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१च ५६५५ नम्बरको गाडीको ठक्करबाट बेलबारी–१ बस्ने ६५ वर्षीय लखन मल्लिकको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते मल्लिकको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । (रासस)