
टोकियो, पुस २१ । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछाबजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख)मा खरिद गरेका छन् ।
जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।
अघिल्लो वर्ष विश्वप्रसिद्ध चुकिजी माछाबजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो ।
नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछाबजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा २७८ किलोको थियो ।
विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।
‘टुना किङको नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए ।
यसअघि, सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए ।
‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अतिस्वादिलो, ताजा टुना किन्न सफल भएको छु’–जापानमा सुसी रेस्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए ।
‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो । तर, हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्’–उनले बताए ।
चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्