
क्याटलान नेता कार्लस पुजमोनले स्पेन सरकारले ‘कू’ गरेको भन्दै क्याटलोनियाको अधिकारका लागि संघर्ष गर्न जनतालाई अपील गरेका छन् ।
पुजमोनले स्पेनका प्रधानमन्त्री मारिआनो राखोयको कदम स्पेनी अधिनायकवादी शासक जेनेरल फ्रान्सिस्को फ्र्यान्कोको सरह रहेको उल्लेख गरे । उनले आफ्नो क्षेत्रमा प्रत्यक्ष शासन लगाउने मड्रिडको योजना क्याटलोनियाले स्वीकार्नै नसक्ने प्रष्ट गर्दै यो निकै घातक आक्रमण हुने बताए ।
क्याटलोनिया एउटा पुरानो युरोपेली राष्ट्र भएको दाबी गर्दै पुजमोनले शान्तिपूर्ण र प्रजातान्त्रिक जनमतसंग्रहबाट आफ्नो भविष्यबारे निर्णय गर्नु अपराध नहुने जिकिर गरे ।
प्रधानमन्त्री राखोयले क्षेत्रीय सरकार र संसद्लाई निलम्बन गर्ने र ताजा निर्वाचन गराउने घोषणा गरेपछि बार्सिलोनामा लाखौं मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री राखोयले भने स्वायत्तता रद्द गरिएको नभई कानुनी शासन पुनर्स्थापित गरिएको तर्क गरेका छन् ।
स्पेनको सिनेटले यस प्रस्तावमाथि शुक्रबार मतदान गर्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्