
३५ वर्षीया सेनियाले आगामी मार्च महिनामा रुसमा हुने राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिने बताएपछि उनी रुसमा निकै शक्तिशाली मानिएका राष्ट्रपति पुटिनलाई चुनौती दिने महिलाको रुपमा चिनिएकी छन् ।
उनले यसअघि विपक्षी पार्टीका नेता अलेक्सी नैवलनीलाई सर्मथन गरेकी थिइन् । तर, अलेक्सीलाई ठगीमा दोषी पाइएपछि रुस सरकारले चुनाव लड्न अयोग्य घोषित गरेको थियो ।
अलेक्सी अयोग्य ठहर भएपछि आगामी चुनाव लड्ने सम्भावना कम रहेको बताउँदै उनले राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध विपक्षी पार्टीबाट उम्मेदवारी दिने बताएकी हुन् ।
सेनिया सेन्ट पिटर्सबर्गका पुर्व मेयर एनेटोलि सोबचाककी छोरी हुन् । एनेटोलिले सन् ९० को दशकमा केजिबिको पुर्व जासुस रहेका पुटिनलाई रोजगारी दिएका थिए । त्यतिखेर कमैले मात्र चिन्ने पुटिनलाई रोजगारी दिएकोले अहिले राष्ट्रपति बनेका पुटिनसँग एनेटोलिको पारिवारिक सम्बन्ध रहेको छ ।
पारिवारिक मित्रता रहेपनि सेनियाले पुटिनविरुद्ध खुलेर आलोचना गरेकी छन् ।
पार्टीमा ‘सोशलाइट’महिलाको रुपमा परिचित सेनियाले सन् २०१२ को राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शनमा नेतृत्व गरेकी थिइन् । जसबाट उनको राजनीतिक यात्रा सफलतातिर लम्केको बताइन्छ ।
उनलाई राष्ट्रपति चुनावमा भाग लिन विपक्षी नेता अलेक्सीले नै आग्रह गरेको बताइएको छ । उनको उम्मेदवारीको अफवाह लामो समयसम्म रहेपनि सेनियालाई क्रेमलिनको कठपुतली भएको आरोप लागेको छ ।
सेनियाले अलेक्सीलाई आगामी चुनाव लड्न दिएमा आफ्नो उम्मेदवारी फिर्ता लिनेसमेत बताएकी छन् । तर, उनको यो भनाइले अलेक्सीलाई आगामी चुनाव लड्न पाउने की नपाउने भन्ने बिषयमा क्रेमलिनलाई कुनै असर नपरेको ‘बीबीसी’ले उल्लेख गरेको छ ।
सेलिब्रेटीबाट पत्रकारिता पेशा सुरु गरेकी सेनियाले टेलिभिजन शो चलाउँछिन् । उनले आफ्ना नेताहरुले गरेको भष्ट्राचार र झुठविरुद्ध जनतासँग मिलेर काम गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘म जनताको लागि एउटा राम्रो मध्यस्तकर्ता बन्न चाहान्छु ।’
तर, पुटिन कै पारिवारिक मित्रको सदस्य रहेकी सेनियाले कतिसम्म राष्ट्रपति पुटिनको कडा आलोचना गर्न सक्छिन् भन्नेमा नागरिकहरुले हेरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
यदि उनले आफ्नो उम्मेदवारी दर्ता गरे पछिल्लो १४ वर्षमा रुसमा राष्ट्रपति चुनावमा भाग लिने पहिलो महिला उम्मेदवार बन्ने छिन् । आगामी डिसेम्बर ७ बाट चुनावी अभियान सुरु हुनेछ । अहिलेसम्म पुटिनले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्