
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले निर्वाचन र सन्चार विषयक कार्यक्रमको मतदाता शिक्षाअन्तर्गत् नमुना मतदानकाक्रममा मतदान गर्न पाउँदा पत्रकारहरु पनि दंग देखिए ।
मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार सन्चारकर्मीका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारहरुले जिज्ञासा मात्र राखेनन्, नजानेको कुरा पनि सिके ।
आसन्न निर्वाचनमा सन्चारकर्मीको भूमिका र दायित्वबारे जानकारी पाएको सहभागीहरुले बताए ।
अझ नमुना मतदान गर्दा धेरै जानकारी पाएको र जनतालाई सुसूचित गराउने थप प्रेरणा मिलेको पत्रकारहरुले बताए ।
प्रशिक्षण, निर्वाचन कानुन, आचारसंहिता, मतदाता शिक्षालगायतका विषयमा केन्द्रित थियो ।
यस किसिमका कार्यक्रमबाट नागरिकलाई सुसूचित गराउने अभिभारा लिएका पत्रकारलाई प्राविधिक तथा थप सैद्धान्तिक ज्ञान मिलेको विश्वास आफूलाई भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
संघीय गणतन्त्रलाई संस्थागत गरी राजनीतिक संक्रमण अन्त्य गर्न महत्वपूर्ण मानिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबैको ध्यान खिचिएका बेला आयोगले तालिमको आयोजना गरेको हो ।
स्थानीय तह निर्वाचनलाई सफल बनाउन सन्चारजगतले सकारात्मक भूमिका खेलेको र आउँदो निर्वाचन पनि सफल बनाउने अभिभारा सन्चारजगतमै रहेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए ।
एकदिने प्रशिक्षणमा आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, इला शर्मा, सुधीरकुमार शाह, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।
पत्रकारहरुलाई प्रवक्ता नवराज ढकाल, सूचना अधिकारी सूर्यप्रसाद अर्याल, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्